डोकोमा घाँस बोकेर सडकमा उत्रिइन् सिम्रन, ‘गौँथली’को प्रचारमा नयाँ शैली – Sagarmathapana:: Online News Portal

डोकोमा घाँस बोकेर सडकमा उत्रिइन् सिम्रन, ‘गौँथली’को प्रचारमा नयाँ शैली

   २०८३ असार ३० गते  

काठमाडौं।प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘गौँथली’ ले प्रचार–प्रसारमा फरक र सिर्जनात्मक शैली अपनाएको छ। चलचित्रकी मुख्य अभिनेत्री सिम्रन खड्का शनिबार डोकोमा घाँस बोकेर काठमाडौं र ललितपुरका विभिन्न स्थानमा पुग्दै दर्शकमाझ प्रत्यक्ष रूपमा चलचित्रको प्रचारमा सहभागी भइन्।

चलचित्रमा निर्वाह गरेको पात्रकै पहिरन र रूपमै सडकमा देखिएकी सिम्रनलाई देखेर सर्वसाधारण उत्सुक बने। धेरैले उनीसँग सेल्फी खिचे भने चलचित्रको कथा र प्रदर्शन मितिबारे जिज्ञासा राखे। उनले दर्शकसँग प्रत्यक्ष संवाद गर्दै सबैलाई हलमा पुगेर ‘गौँथली’ हेर्न आग्रह गरिन्।  

निर्माण टिमका अनुसार सामाजिक सञ्जालमा मात्र सीमित नभई दर्शकमाझ प्रत्यक्ष पुग्ने उद्देश्यले यस्तो प्रचार अभियान सञ्चालन गरिएको हो। अभियानका क्रममा चलचित्रबारे जानकारी समेटिएका सामग्रीसमेत वितरण गरिएको थियो।  

निर्देशक कपिल रिजालको निर्देशनमा बनेको ‘गौँथली’ मा सिम्रन खड्कासँगै अरुण क्षेत्री, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर लगायत कलाकारको अभिनय रहेको छ। सामाजिक तथा पारिवारिक कथावस्तुमा आधारित यो चलचित्र साउन १ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।  

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै