यूएईसँग व्यापार,लगानी र पर्यटन सहकार्य विस्तारमा जोड
काठमाडौं।प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल र संयुक्त अरब इमिरेट्स (यूएई) का विदेश व्यापार मन्त्री डा. थानी बिन अहमद अल जेयोउदीबीच शिष्टाचार भेटवार्ता भएको छ। भेटमा नेपाल–यूएई सम्बन्धलाई व्यापार, लगानी, पर्यटन, श्रम, शिक्षा तथा संसदीय सहकार्यका क्षेत्रमा अझ सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको हो।
भेटका क्रममा सभामुख अर्यालले नेपालमा विदेशी लगानी आकर्षित गर्न अनुकूल वातावरण निर्माण भइरहेको उल्लेख गर्दै यूएईका लगानीकर्तालाई नेपालका विभिन्न क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो। उहाँले फ्लाई दुबईको पोखरा–दुबई सिधा उडानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न तथा भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि ‘फिफ्थ फ्रिडम राइट्स’ को अवसर उपयोग गर्न पनि अनुरोध गर्नुभयो।


जवाफमा मन्त्री अल जेयोउदीले नेपालसँगको आर्थिक साझेदारी थप विस्तार गर्न यूएई सकारात्मक रहेको बताउँदै व्यापार, लगानी, पर्यटन, पूर्वाधार, डिजिटल रूपान्तरण, कृत्रिम बुद्धिमत्ता (एआई) लगायतका क्षेत्रमा सहकार्य बढाउन इच्छुक रहेको धारणा राख्नुभयो।
दुवै पक्षले उच्चस्तरीय भ्रमण, संसदीय कूटनीति तथा निजी क्षेत्रबीचको सहकार्यलाई थप सुदृढ गर्दै नेपाल–यूएई सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।













