ह्विल लकपछि आगो लगाएका राइड सेयर चालक गणेशको अवस्था गम्भीर, परिवार उपचार खर्च जुटाउनै सकसमा
काठमाडौं।त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका २६ वर्षीय राइड सेयर चालक गणेश नेपालीको अवस्था गम्भीर रहेको छ। शरीरको करिब ७० प्रतिशत भाग जलेपछि उनको वीर अस्पतालको आईसीयूमा उपचार भइरहेको चिकित्सकले जनाएका छन्।
मुगुको सोरु गाउँपालिका–१ घर भएका गणेश काठमाडौंमा राइड सेयरिङ सेवा सञ्चालन गर्दै श्रीमती र करिब तीन वर्षीया छोरीको पालनपोषण गर्दै आएका थिए। परिवारका अनुसार उनी वैदेशिक रोजगारीका लागि दुबई जाने तयारीसँगै लोकसेवाको अध्ययन पनि गरिरहेका थिए।
घटनापछि वीर अस्पताल पुगेका दाजु मदन नेपालीले भाइसँग केही क्षण मात्रै कुरा गर्न पाएको बताए। उनका अनुसार गणेशले “बाबा–मम्मीलाई ख्याल गर्नु” भन्दै परिवारको चिन्ता व्यक्त गरेका थिए। मदनले अहिले उपचार खर्च जुटाउन समेत कठिनाइ भइरहेको बताएका छन्।
प्रहरीका अनुसार गणेशले राहदानी विभाग अगाडि नियमविपरीत मोटरसाइकल पार्किङ गरेपछि काठमाडौं महानगरपालिकाको नगर प्रहरीले ह्विल लक लगाएको थियो। त्यसपछि महानगर र ट्राफिक प्रहरीले मोटरसाइकल उठाउने तयारी गरिरहेका बेला उनले मोटरसाइकलबाट पेट्रोल निकालेर आफ्नै शरीरमा खन्याई आगो लगाएका थिए।
काठमाडौं महानगरपालिकाले नियमअनुसार सार्वजनिक आवागमनमा अवरोध हुने गरी पार्किङ गरिएका सवारीसाधनमा ह्विल लक लगाइने जनाएको छ। महानगरका अनुसार घटनाको वास्तविक कारणबारे अनुसन्धान जारी छ र एक हजार रुपैयाँ जरिवाना मात्रै घटनाको कारण हो वा होइन भन्ने विषय पनि खुल्न बाँकी छ।
उता गणेशकी श्रीमती अस्पताल पुगे पनि उपचार कक्षमा प्रवेश गर्न नपाउँदा श्रीमान्लाई भेट्न सकेकी छैनन्। परिवार आर्थिक रूपमा कमजोर रहेकाले उपचार खर्च व्यवस्थापनमा थप समस्या परेको आफन्तहरूले बताएका छन्।
वीर अस्पतालका बर्न युनिट प्रमुखका अनुसार गणेशको अवस्था अझै गम्भीर रहेकाले आगामी केही दिन उपचारका दृष्टिले अत्यन्त संवेदनशील रहनेछन्।












