एल्ब्रस शिखरमा पुगे गायक राजु लामा,‘सेभेन समिट्स च्यालेन्ज’को तेस्रो सफलता
काठमाडौं।गायक राजु लामाले युरोपको सबैभन्दा अग्लो शिखर माउन्ट एल्ब्रस (५,६४२ मिटर) सफलतापूर्वक आरोहण गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत एल्ब्रस आरोहण आफ्नो ‘सेभेन समिट्स च्यालेन्ज’ अन्तर्गतको तेस्रो सफल शिखर आरोहण भएको जानकारी दिएका हुन्।
लामाले पर्वत र प्रकृतिसँग आफ्नो गहिरो भावनात्मक सम्बन्ध रहेको उल्लेख गर्दै शिखरमा पुगेपछि प्राप्त भएको खुसी र उत्साह शब्दमा व्यक्त गर्न नसकिने बताएका छन्। उनका अनुसार सात जना नेपाली आरोहीसँग गरिएको यो अभियान स्मरणीय बनेको छ।
यो अभियान विश्वव्यापी तापक्रम वृद्धि (ग्लोबल वार्मिङ) र जलवायु संकटबारे जनचेतना फैलाउने उद्देश्यका साथ सञ्चालन गरिएको हो। पृथ्वी संरक्षणका लागि सकारात्मक सन्देश प्रवाह गर्ने लक्ष्यसहित टोलीले एल्ब्रस आरोहण सम्पन्न गरेको लामाले बताएका छन्।
यसअघि पनि उनले जलवायु परिवर्तनका असरबारे विश्व समुदायको ध्यानाकर्षण गराउने उद्देश्यले विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरेका थिए। संगीत यात्रासँगै वातावरण संरक्षण र हिमालप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै राजु लामा अहिले ‘सेभेन समिट्स च्यालेन्ज’लाई अघि बढाइरहेका छन्।












