अमेरिकाको इरानमाथि फेरि भीषण हवाई हमला,दक्षिणपूर्वी क्षेत्रमा विस्फोटको श्रृंखला – Sagarmathapana:: Online News Portal

अमेरिकाको इरानमाथि फेरि भीषण हवाई हमला,दक्षिणपूर्वी क्षेत्रमा विस्फोटको श्रृंखला

   २०८३ असार २५ गते  

काठमाडौं।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप सैन्य कारबाहीको घोषणा गरेको केही घण्टामै अमेरिकी सेनाले इरानका विभिन्न क्षेत्रमा भीषण हवाई हमला गरेको छ।

इरानी समाचार एजेन्सीका अनुसार दक्षिणपूर्वी इरानका कोनारक, चाबहार र इरानसहरलगायतका क्षेत्रमा बुधबार मध्यरातिदेखि अमेरिकी हवाई आक्रमण जारी रहेको छ। इरानसहर विमानस्थलमा भएको आक्रमणमा एक अग्नि नियन्त्रकको मृत्यु भएको जनाइएको छ।

सिस्तान–बलुचिस्तान प्रान्तका स्थानीय अधिकारीहरूले राति करिब १२:३० बजे सहरभरि लगातार चारवटा शक्तिशाली विस्फोट सुनिएको बताएका छन्। आक्रमणपछि चाबहार बन्दरगाह क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ। चाबहार फ्रि जोन प्रशासनले गोदाममा रहेका सवारीसाधन सुरक्षित स्थानमा सार्ने अभियान सञ्चालन गरेको जनाएको छ। मध्यरातसम्म करिब ३०० सवारीसाधन हटाइसकिएको र बाँकी सवारीसाधन बिहानसम्म सारिने बताइएको छ।

यसअघि मंगलबार पनि अमेरिकाले इरानका ८० भन्दा बढी सैन्य अड्डालाई लक्षित गर्दै हवाई आक्रमण गरेको थियो। अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम)ले होर्मुज जलडमरूमध्यमा जहाजहरूमाथि भएको आक्रमणको जवाफस्वरूप सैन्य कारबाही गरिएको जनाएको छ।

नेटो शिखर सम्मेलनका क्रममा राष्ट्रपति ट्रम्पले इरानविरुद्ध थप ठूलो आक्रमण हुने संकेत दिएका थिए। साथै, उनले इरानसँग द्वन्द्व अन्त्यका लागि भएको पूर्व समझदारी समाप्त भएको घोषणा गरेपछि क्षेत्रीय तनाव थप चुलिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै