धरानमा अस्पतालभित्र विचौलिया गतिविधिविरुद्ध प्रहरीको कडाइ, थप १० जना पक्राउ – Sagarmathapana:: Online News Portal

धरानमा अस्पतालभित्र विचौलिया गतिविधिविरुद्ध प्रहरीको कडाइ, थप १० जना पक्राउ

   २०८३ असार २४ गते  

धरान।बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीलाई प्रलोभनमा पारेर निजी मेडिकलबाट औषधि खरिद गराउने तथा अवैध कमिसनको चलखेल गरेको आरोपमा प्रहरीले थप १० जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख केशवकुमार थेबेका अनुसार विशेष सूचनाका आधारमा बुधबार राति प्रतिष्ठानको इमर्जेन्सी भवन अगाडिबाट इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोस्ट घोपाको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरू विभिन्न जिल्ला र स्थानीय तहका रहेका छन्। उनीहरूमाथि बिरामीलाई निजी मेडिकलतर्फ आकर्षित गर्दै कमिसनको कारोबार गरेको आरोपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसअघि पनि असार २२ गते यही प्रकृतिको आरोपमा दुई जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको थियो। पछिल्लो पक्राउसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या १२ पुगेको छ।

गत असार २१ गते गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्यमन्त्री निशा मेहताले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गर्दै अस्पतालभित्र हुने विचौलिया गतिविधि, अनियमितता र बिरामीमाथिको ठगी रोक्न कडा निर्देशन दिएका थिए। त्यसलगत्तै सुरक्षा निकायले अस्पताल परिसरमा निगरानी बढाएको छ।

प्रहरीले अस्पतालभित्र हुने गैरकानुनी गतिविधि नियन्त्रणका लागि निगरानी र कारबाहीलाई निरन्तरता दिने जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै