नक्कली भुटानी शरणार्थी प्रकरणमा फैसला: पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १६ जना दोषी ठहर
काठमाडौं-बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले मंगलबार कसुर ठहरको फैसला सुनाएको छ। न्यायाधीश तेजबहादुर खड्काको इजलासले पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १६ जनालाई दोषी ठहर गरेको हो। सजाय निर्धारण भने आगामी २९ गते हुने अदालतले जनाएको छ।
गत जेठ २७ गतेदेखि निरन्तर सुनुवाइ भइरहेको यस मुद्दामा फरार रहेका आठ जनाको हकमा मुद्दा मुल्तवी राखिएको छ भने सात जनाले अभियोगबाट सफाइ पाएका छन्।

अदालतले बालकृष्ण खाण, टोपबहादुर रायमाझी, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, डा. इन्द्रजित राई, गोविन्द चौधरी, आङटावा शेर्पा, बेचन झा, टेकनाथ रिजाल, नरेन्द्र केसी, शमशेर मियाँ, हरिभक्त महर्जन र निरञ्जन खरेललाई दोषी ठहर गरेको छ। अदालतले पूर्वगृहमन्त्री खाणलाई मतियारका रूपमा दोषी ठहर गरेको उल्लेख गरेको छ।
यस्तै, रामशरण केसी, टंकबहादुर गुरुङ, सन्दीप रायमाझी, प्रतिक थापा, लक्ष्मी महर्जन, केशव थापा र आशिष बुढाथोकीले भने अभियोगबाट सफाइ पाएका छन्।

यस प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले २०८० जेठ १० गते पहिलोपटक ३० जनाविरुद्ध ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर तथा संगठित अपराधसम्बन्धी अभियोगमा मुद्दा दायर गरेको थियो। त्यसपछि २०८१ वैशाख ९ गते थप पाँच जनालाई प्रतिवादी बनाएर अर्को मुद्दा दायर गरिएको थियो। बेचन झा पक्राउ परेपछि २०८१ साउन २९ गते तेस्रो मुद्दा दर्ता भएको थियो।
बहुचर्चित यस प्रकरणमा अदालतको कसुर ठहरपछि अब आगामी २९ गते हुने सजाय निर्धारणतर्फ सबैको चासो केन्द्रित भएको छ।












