मेसीको प्रेरणामा अर्जेन्टिनाको ऐतिहासिक कमब्याक, इजिप्टलाई हराउँदै क्वार्टरफाइनलमा – Sagarmathapana:: Online News Portal

मेसीको प्रेरणामा अर्जेन्टिनाको ऐतिहासिक कमब्याक, इजिप्टलाई हराउँदै क्वार्टरफाइनलमा

   २०८३ असार २४ गते  

काठमाडौं।साविक विजेता अर्जेन्टिनाले अविश्वसनीय पुनरागमन गर्दै इजिप्टलाई ३–२ ले पराजित गरेर विश्वकप फुटबलको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ।

अन्तिम १६ अन्तर्गतको रोमाञ्चक खेलमा अर्जेन्टिना ७८औँ मिनेटसम्म २–० ले पछि परेको थियो। इजिप्टका यासिर इब्राहिमले १५औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने ६७औँ मिनेटमा मोस्ताफा जिकोले दोस्रो गोल थपेपछि अर्जेन्टिना प्रतियोगिताबाट बाहिरिने संघारमा पुगेको थियो।

तर त्यसपछि कप्तान लियोनल मेसीको नेतृत्वमा अर्जेन्टिनाले शानदार कमब्याक गर्‍यो। ७९औँ मिनेटमा क्रिस्टियन रोमेरोले गोल गर्दै अन्तर घटाए। त्यसपछि ८३औँ मिनेटमा मेसीले बराबरी गोल गरे भने इन्जुरी समयमा एन्जो फर्नान्डेजले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई ३–२ को रोमाञ्चक जित दिलाए।

खेलको अन्तिम समयमा फर्नान्डेजको गोललाई लिएर केहीबेर विवाद उत्पन्न भएको थियो। त्यसक्रममा इजिप्टका टिम स्टाफ साफान एल्साघेरले रातो कार्ड पाए भने गोलरक्षक मोस्तफा शोबिर र हम्दी फाथी पहेँलो कार्डको भागीदार बने।

खेलमा एक गोल र एक असिस्ट गरेका कप्तान मेसी ‘म्यान अफ द म्याच’ घोषित भए। उनले पहिलो हाफमा पाएको पेनाल्टी भने गोलमा परिणत गर्न सकेनन्।

यस जितसँगै मेसीले दुई महत्वपूर्ण कीर्तिमान पनि आफ्नो नाममा लेखाएका छन्। उनी विश्वकप इतिहासमा सर्वाधिक असिस्ट गर्ने खेलाडी बनेका छन् भने जारी विश्वकपमा ८ गोलसहित सर्वाधिक गोलकर्ता पनि बनेका छन्। उनका पछाडि केलियन एम्बाप्पे र ह्यारी केन समान ७–७ गोलका साथ रहेका छन्।

रोमाञ्चक पुनरागमनसँगै अर्जेन्टिनाले उपाधि रक्षा अभियानलाई निरन्तरता दिँदै अन्तिम आठमा स्थान सुरक्षित गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै