पूर्वाञ्चलबाट राष्ट्रिय मञ्चसम्म : ‘नेशनल गट ट्यालेन्ट सिजन–८’ का लागि आवेदन आह्वान
काठमाडौं।पूर्वाञ्चल गट ट्यालेन्ट सिजन–७ को सफल आयोजनापछि अब प्रतियोगिता राष्ट्रिय स्तरमा विस्तार गरिएको छ। आयोजकले ‘नेशनल गट ट्यालेन्ट सिजन–८’ आयोजना गर्ने घोषणा गर्दै काठमाडौं अडिसनका लागि आवेदन खुला गरेको जनाएको छ।
गायन तथा नृत्य क्षेत्रमा प्रतिभा भएका सहभागीहरूले प्रतियोगितामा भाग लिन सक्नेछन्। अडिसन काठमाडौंको अनामनगरस्थित थ्री ब्रदर्स मिडिया हाउसमा सञ्चालन हुनेछ।


प्रतियोगिता जुनियर र सिनियर गरी दुई समूहमा विभाजन गरिएको छ। १४ वर्षभन्दा कम उमेरका सहभागीहरू जुनियर तथा १४ वर्ष वा सोभन्दा माथिका सहभागीहरू सिनियर समूहमा प्रतिस्पर्धा गर्न सक्नेछन्।
काठमाडौं अडिसनका लागि आवेदन फारम भर्ने अन्तिम मिति साउन २२ तोकिएको छ भने फिजिकल अडिसन साउन २३ र २४ गते सञ्चालन गरिने आयोजकले जनाएको छ।


आयोजकका अनुसार प्रतियोगिताको उद्देश्य देशभरका नयाँ गायन तथा नृत्य प्रतिभालाई राष्ट्रिय मञ्च उपलब्ध गराउनु हो। इच्छुक प्रतिभाहरूलाई समयमै आवेदन दिएर अवसरको सदुपयोग गर्न पनि आग्रह गरिएको छ।












