होल्डिङ सेन्टरमा सुकुम्बासीको अवस्था दयनीय, तत्काल व्यवस्थापन गर्न संघर्ष समितिको माग
काठमाडौं।होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासी तथा भूमिहीन परिवारको अवस्था अत्यन्तै नाजुक रहेको भन्दै केन्द्रीय संयुक्त संघर्ष समितिले तत्काल सुरक्षित व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ। समितिले माग सम्बोधन नभए थप संघर्षका कार्यक्रम घोषणा गर्ने चेतावनी पनि दिएको छ।
शुक्रबार राजधानीको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत), नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाललगायत दलहरू आबद्ध केन्द्रीय संयुक्त संघर्ष समितिले होल्डिङ सेन्टरको स्थलगत अनुगमनपछि त्यहाँको अवस्था दयनीय रहेको निष्कर्ष सार्वजनिक गरेको हो।

समितिले डोजर पीडितहरूको पक्षमा आवाज उठाएको आरोपमा पक्राउ परेका डम्बर तामाङलाई तत्काल रिहा गर्न तथा उनीमाथि लगाइएको मुद्दा फिर्ता लिन पनि सरकारसँग माग गरेको छ।
पत्रकार सम्मेलनमा बोल्दै क्रान्तिकारी कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य सिताराम तामाङले सरकारले जनताको अभिभावकीय भूमिका निर्वाह गर्नुको सट्टा दमनकारी नीति अपनाएको आरोप लगाए। अर्का नेता दिनेश शर्माले वैकल्पिक व्यवस्थाविना भूमिहीन र सुकुम्बासीलाई विस्थापित गरेर काठमाडौं महानगरपालिकाले अमानवीय व्यवहार गरेको दाबी गरे।
संघर्ष समितिका सदस्य बाबुराम गजमेरले होल्डिङ सेन्टरको अवस्था अत्यन्तै अपमानजनक रहेको उल्लेख गर्दै डोजर अभियानपछि आत्महत्या, मृत्यु तथा महिला, बालबालिका, सुत्केरी र नवजात शिशुसमेत कष्टकर अवस्थामा बस्न बाध्य भएको दाबी गरे।

समितिका सदस्य राजकुमार हिङमाङले विस्थापित नागरिकको उचित व्यवस्थापन गर्न नसकेको भन्दै सरकारले राजनीतिक पूर्वाग्रहका आधारमा विभेद र दमन गरेको आरोप लगाए। नेपाल कम्युनिस्ट पार्टीका नेता खेमनारायण ढुङ्गानाले वर्षौंदेखि बसोबास गर्दै आएका नागरिकलाई विस्थापित गरेर राज्य तानाशाही प्रवृत्तितर्फ उन्मुख भएको टिप्पणी गरे।
संघर्ष समितिले सरकारसँग विस्थापित परिवारका लागि तत्काल सुरक्षित आवास, रोजगारी, उत्पादनका लागि जमिन, भत्काइएका घर तथा संरचनाको क्षतिपूर्ति, मृतकका परिवारलाई राहत, बालबालिकाको शिक्षाको सुनिश्चितता, बिरामीको निःशुल्क उपचार, खानेपानी तथा सरसफाइको व्यवस्था र जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) उपलब्ध गराउन माग गरेको छ। साथै, माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने चेतावनी दिएको छ।












