पूर्वसूचना बिना सीमामा पुगे गृहमन्त्री सुधन गुरुङ, तस्करी नियन्त्रण र राजस्व चुहावटबारे आकस्मिक अनुगमन – Sagarmathapana:: Online News Portal

पूर्वसूचना बिना सीमामा पुगे गृहमन्त्री सुधन गुरुङ, तस्करी नियन्त्रण र राजस्व चुहावटबारे आकस्मिक अनुगमन

   २०८३ असार २० गते  

काठमाडौं।गृहमन्त्री सुधन गुरुङ सुरक्षा निकायलाई पूर्वजानकारी नदिई कोशी प्रदेशका सीमा क्षेत्रको आकस्मिक अनुगमनमा निस्किएका छन्। शुक्रबार साँझ सुनसरी र मोरङका सीमावर्ती क्षेत्रमा पुगेका उनले सीमा सुरक्षाको अवस्था, चोरी–तस्करी नियन्त्रण तथा राजस्व चुहावटको वास्तविक स्थिति बुझ्न स्थलगत निरीक्षण गरेका हुन्।

गृहमन्त्रीको अप्रत्याशित अनुगमनले सीमा क्षेत्रमा कार्यरत सुरक्षा निकाय र प्रशासनिक अधिकारीहरूबीच एकाएक चासो बढाएको छ। नियमित जानकारीबिनै मन्त्री स्वयं निरीक्षणमा पुगेपछि स्थानीय सुरक्षा संयन्त्र उच्च सतर्कतामा रहेको स्रोतले जनाएको छ।

अनुगमनका क्रममा गृहमन्त्री गुरुङले सीमा क्षेत्रमा हुने अवैध कारोबार, चोरी–तस्करी तथा राजस्व चुहावट रोक्न प्रभावकारी निगरानी बढाउन सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने तयारी गरेको जनाइएको छ। साथै सीमावर्ती क्षेत्रमा खटिएका सुरक्षा निकायको कार्यसम्पादन, समन्वय र निगरानी प्रणालीबारे पनि उनले जानकारी लिएका छन्।

सरकारले पछिल्लो समय सीमा क्षेत्रमा बढ्दो तस्करी, अवैध ओसारपसार र राजस्व चुहावट नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेको छ। सोही सन्दर्भमा गृहमन्त्रीको आकस्मिक अनुगमनलाई सीमा सुरक्षा प्रणालीको वास्तविक अवस्था बुझ्ने प्रयासका रूपमा हेरिएको छ।

गृहमन्त्रीको अनुगमनपछि सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउन थप रणनीतिक निर्णय र निर्देशन आउने अपेक्षा गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै