१०० दिनमा भूमि प्रशासनदेखि सहकारी सुधारसम्मका उपलब्धि सार्वजनिक, २२३ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाइयो – Sagarmathapana:: Online News Portal

१०० दिनमा भूमि प्रशासनदेखि सहकारी सुधारसम्मका उपलब्धि सार्वजनिक, २२३ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाइयो

   २०८३ असार २० गते  

काठमाडौं।सङ्घीय मामिला तथा सामान्य प्रशासन तथा भूमि व्यवस्थासम्बन्धी जिम्मेवारी समेटिएको मन्त्रालयले सरकारको पहिलो १०० दिनमा सेवा प्रवाह सुधार, डिजिटल प्रणाली विस्तार, सहकारी क्षेत्र व्यवस्थापन र भूमि प्रशासनमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ।

मन्त्रालयका अनुसार १०० दिनको अवधिमा २२३ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाइएको छ। सहकारी क्षेत्रतर्फ समस्याग्रस्त सहकारीका १ हजार ७५४ साना बचतकर्तालाई करिब २ करोड ६३ लाख रुपैयाँ फिर्ता गरिएको छ भने १५४ ऋणीबाट ४ करोड ३२ लाख रुपैयाँभन्दा बढी ऋण असुल गरिएको जनाएको छ।

भूमि व्यवस्थापनतर्फ भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणको कार्य अघि बढाइएको मन्त्रालयले जनाएको छ। साथै मालपोत र नापी सेवाको विस्तारसँगै सेवा प्रवाहलाई थप सहज बनाउन विभिन्न डिजिटल प्रणाली सञ्चालनमा ल्याइएको उल्लेख गरिएको छ।

मन्त्रालयका अनुसार डिजिटल सिफारिस प्रणाली, कर्मचारी सरुवाको पूर्ण अनलाइन व्यवस्था, किताबखानाको डिजिटल प्रणाली, ‘मेरो कित्ता’ मोबाइल एप, सहकारी ड्यासबोर्ड, जग्गा नापजाँचका लागि अनलाइन अपोइन्टमेन्ट प्रणाली तथा भूमि प्रशासनका सेवामा अनलाइन भुक्तानी प्रणाली सञ्चालनमा ल्याइएको छ।

त्यसैगरी स्थानीय तहको सेवा सुधार, कर्मचारी व्यवस्थापन, गुनासो ट्र्याकिङ प्रणाली, कार्यसम्पादन सूचक (KPI) निर्माण, भूमि अभिलेखको डिजिटल एकीकरण तथा विभिन्न कानुन र विधेयकका मस्यौदा तयारीको कार्य पनि पहिलो १०० दिनभित्र सम्पन्न भएको मन्त्रालयले दाबी गरेको छ।

मन्त्रालयले यी कार्यहरू सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यअनुसार अघि बढाइएको जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै