लिम्बू चलचित्र निर्माण कार्यशाला सम्पन्न, मौलिक कथावस्तु र संस्कृतिमाथि गहन विमर्श
काठमाडौं।याक्थुङ भाषा, संस्कृति, मुन्धुम तथा मौलिक पहिचानलाई चलचित्रमार्फत विश्वसामु चिनाउने उद्देश्यले आयोजित ‘एक हप्ते लिम्बू चलचित्र निर्माण कार्यशाला–२०८३’ सफलतापूर्वक सम्पन्न भएको छ।
याक्थुङ मुन्चइत चोक सयङको आयोजनामा तथा चलचित्र विकास बोर्डको सहकार्यमा सञ्चालन गरिएको कार्यशालाको समापन समारोह तथा ‘लिम्बू चलचित्र विमर्श’ कार्यक्रम आइतबार ललितपुर–१४ स्थित दरबार रेस्टुरेन्ट एण्ड पार्टी प्यालेसमा सम्पन्न भएको हो।


एक सातासम्म सञ्चालन भएको कार्यशालामा मुन्धुम र याक्थुङ सभ्यताबीचको अन्तरसम्बन्ध, मुन्धुममा आधारित कथ्य संरचना, चलचित्रमा कथा प्रस्तुति शैली, पूर्वीय तथा पश्चिमी कथानक संरचना, अभिनय कला, लिम्बू कथा तथा चरित्र निर्माणलगायत विषयमा प्रशिक्षण प्रदान गरिएको आयोजकले जनाएको छ।
कार्यशालामा पूर्वीय र पश्चिमी अभिनय पद्धतिसँगै लिम्बू मौलिक अभिनय शैलीका आधारभूत पक्षहरूबारे सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिएको थियो। साथै चरित्र निर्माण, आन्तरिक तथा बाह्य द्वन्द्व, चरित्र विकास, रूपान्तरण, दृश्य भाषा, संवाद कला, ध्वनि तथा रङ संरचना, क्यामराको भाषा र चलचित्रमा भूगोलको महत्वबारे समेत सहभागीहरूलाई प्रशिक्षण दिइएको थियो।


त्यसैगरी चलचित्र लेखन तथा निर्माणका विविध पक्ष, कथा, पटकथा, संवाद, द्वन्द्व र उत्प्रेरणासम्बन्धी समष्टिगत अभ्यासमार्फत सहभागीहरूलाई सिर्जनात्मक तथा प्राविधिक सीप विकास गर्ने अवसर प्रदान गरिएको आयोजकको भनाइ छ।
समापन समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका निमित्त प्रमुख राम मादेन, नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद्का उपाध्यक्ष अमृत सुनुवार, किरात याक्थुङ चुम्लुङकी संघीय उपाध्यक्ष निरन्ति तुम्बापो लगायत विभिन्न संघ–संस्था तथा चलचित्र क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रशिक्षक चलचित्रकर्मी नवीन सुब्बा तथा मानवशास्त्री एवं मुन्धुम अध्येता डीबी आङबुङ लाई विशेष सम्मान व्यक्त गरिएको थियो।
याक्थुङ मुन्चइत चोक सयङका संघीय अध्यक्ष सागर केरुङले कार्यशालाले लिम्बू चलचित्र निर्माणको सम्भावना, सिर्जनात्मक अभ्यास, प्राविधिक दक्षता तथा सांस्कृतिक पक्षबारे महत्वपूर्ण सिकाइ र विमर्शको अवसर प्रदान गरेको बताए। उनले याक्थुङ भाषा, संस्कृति, मुन्धुम र पहिचानलाई चलचित्रको माध्यमबाट विश्व समुदायसमक्ष पुर्याउने अभियान निरन्तर अघि बढ्ने विश्वास व्यक्त गरे।
आयोजकले कार्यक्रम सफल बनाउन सहयोग गर्ने चलचित्र विकास बोर्ड, विभिन्न संघ–संस्था, सञ्चारकर्मी, प्रशिक्षक, सहभागी तथा सहयोगी सबैप्रति आभार व्यक्त गरेको छ।












