नैतिकताको आधारमा गृहमन्त्री सुदन गुरुङ को राजीनामा
काठमाडौँ।गृहमन्त्री सुदन गुरुङ ले आफ्नो पदबाट राजीनामा दिएका छन्। पछिल्लो समय आफ्नो शेयर स्वामित्व लगायतका विषयमा सार्वजनिक रूपमा उठेका प्रश्न र आलोचनालाई सम्बोधन गर्दै उनले नैतिकताको आधारमा पद त्याग गरेको घोषणा गरेका हुन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक वक्तव्य जारी गर्दै गुरुङले २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएको स्मरण गराएका छन्। उनले पदभन्दा नैतिकता र जनविश्वास ठूलो हुने उल्लेख गर्दै पछिल्लो ‘Gen Z’ आन्दोलनले उठाएको सुशासन र जवाफदेहिताको मागलाई सम्मान गर्दै आफूले यो कदम चालेको बताएका छन्।
उनका अनुसार आफूसँग जोडिएका विषयहरूमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा ‘स्वार्थको द्वन्द्व’ (Conflict of Interest) नदेखियोस् भन्ने उद्देश्यले राजीनामा दिएका हुन्। साथै, ४६ जना सहिदको बलिदानबाट बनेको सरकारको गरिमा जोगाउन नैतिक जिम्मेवारी महत्वपूर्ण रहेको उनले उल्लेख गरेका छन्।
गुरुङले सार्वजनिक जीवन स्वच्छ र नेतृत्व उत्तरदायी हुनुपर्ने सन्देश दिन आफ्नो निर्णय सहयोगी हुने विश्वास व्यक्त गरेका छन्।
राजीनामाको अन्त्यमा उनले केही सञ्चारकर्मीहरूमाथि पनि प्रश्न उठाउँदै कतिपयको ‘स्वेट शेयर’ (Sweet Share) सम्बन्धी विषयहरू क्रमशः बाहिर आउने दाबी गरेका छन्। उनले रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस देखाउनुपर्ने बताएका छन्।
गुरुङको राजीनामा आजकै मितिबाट लागू हुने भएको छ। उनले अन्त्यमा सत्य, इमानदारी र आत्मशुद्धिको मार्गमा उभिन सबैलाई आह्वान समेत गरेका छन्।












