विराटनगरमा कांग्रेसको प्रदेशस्तरीय समीक्षा आज:निर्वाचन समीक्षा मार्फत संगठन पुनर्जागरणतर्फ कांग्रेस – Sagarmathapana:: Online News Portal

विराटनगरमा कांग्रेसको प्रदेशस्तरीय समीक्षा आज:निर्वाचन समीक्षा मार्फत संगठन पुनर्जागरणतर्फ कांग्रेस

   २०८३ बैशाख ९ गते  

विराटनगर-नेपाली कांग्रेसले कोशी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम आज विराटनगरमा आयोजना गर्दैछ। बिहान १०ः३० बजेदेखि सुरु हुने कार्यक्रममा पार्टी सभापति गगन थापा सहित शीर्ष नेतृत्वको सहभागिता रहने सहमहामन्त्री डिला संग्रौला ले जानकारी दिएकी छन्।

कार्यक्रमको मुख्य उद्देश्य प्रदेशस्तरमा संगठन सुदृढीकरण, हालैको निर्वाचन परिणामको समग्र समीक्षा तथा आगामी राजनीतिक रणनीति तय गर्नु रहेको छ। यसमा केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश कार्यसमिति, संघीय तथा प्रदेश सांसद, जिल्ला र क्षेत्रीय सभापतिहरू तथा अघिल्लो निर्वाचनका उम्मेदवारहरूको व्यापक सहभागिता रहनेछ।
यसअघि गण्डकी, लुम्बिनी, बागमती र मधेश प्रदेशमा समीक्षा सम्पन्न गरिसकेको कांग्रेसले कोशीमा पनि संगठनात्मक छलफललाई निरन्तरता दिएको हो।

समीक्षा कार्यक्रममार्फत स्थानीयदेखि प्रदेश तहसम्म संगठनको अवस्था, कमजोरी र सुधारका सम्भावनाबारे सुझाव संकलन गरिनेछ। साथै संगठन विस्तार, क्रियाशील सदस्यता वृद्धि, १५औँ महाधिवेशनको तयारी र कार्यकर्ता सक्रियता अभिवृद्धिमा केन्द्रित छलफल हुने अपेक्षा गरिएको छ।

पार्टीले यस्ता कार्यक्रमलाई केवल चुनावी विश्लेषणमा सीमित नराखी संगठन पुनर्जागरण अभियानको रूपमा अघि बढाएको जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै