दुर्गा प्रसाईँविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा दायर
काठमाडौं:मेडिकल व्यवसायी Durga Prasai विरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले प्रसाईँलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७(१) बमोजिम कारबाहीको माग गर्दै मुद्दा दर्ता गरेको हो।
अभियोजन पक्षले प्रसाईँलाई अधिकतम १ लाख रुपैयाँ जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुनुपर्ने माग गरेको छ। साथै, उनले पटक–पटक यस्तै प्रकृतिको कसुर दोहोर्याएको उल्लेख गर्दै थप सजाय र अपराध पीडित संरक्षण ऐन, २०७५ अनुसार पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क भराउन पनि माग गरिएको छ।

अभियोगपत्रअनुसार प्रसाईँले सामाजिक सञ्जाल फेसबुकमार्फत आगामी निर्वाचनसम्बन्धी भ्रामक तथा उत्तेजक अभिव्यक्ति दिएका थिए। प्रहरी अनुसन्धानले विशेषगरी २०८२ फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनको विरोध गर्दै ‘निर्वाचन भए देश टुक्रिन्छ’ जस्ता अभिव्यक्तिमार्फत वैमनस्यता फैलाउने प्रयास गरेको देखाएको छ।
यस्तै, उनले राजसंस्था र हिन्दु राज्य पुनःस्थापना नभएसम्म चुनाव हुन नदिने तथा चुनाव भए देशमा अशान्ति मच्चिने चेतावनीपूर्ण अभिव्यक्ति दिएको पनि अभियोगमा उल्लेख गरिएको छ।














