आधा सिलिन्डर नीति अस्वीकार, व्यवसायीले पूर्ण ग्यास आपूर्ति गर्ने घोषणा – Sagarmathapana:: Online News Portal

आधा सिलिन्डर नीति अस्वीकार, व्यवसायीले पूर्ण ग्यास आपूर्ति गर्ने घोषणा

   २०८३ बैशाख ९ गते  

काठमाडौँ।बजारमा देखिएको एलपी ग्यास अभाव समाधानका लागि सरकारले लागू गरेको ‘आधा सिलिन्डर’ (७.१ किलो) नीति ग्यास व्यवसायीहरूले अस्वीकार गरेका छन्। व्यवसायीहरूले सरकारको औपचारिक निर्णय नपर्खी आगामी सोमबारदेखि उपभोक्तालाई १४.२ किलो (पूरा) तौलको ग्यास सिलिन्डर नै बिक्री गर्ने निर्णय गरेका छन्।

ग्यास विक्रेता महासंघ र नेपाल एलपी ग्यास उद्योग संघबीच भएको संयुक्त बैठकले यस्तो निर्णय गरेको महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले जानकारी दिए। उनका अनुसार डिजेल मूल्यमा भएको अप्रत्याशित वृद्धिका कारण ढुवानी खर्च धान्न नसकिने अवस्था सिर्जना भएपछि व्यवसायीहरू यो कदम चाल्न बाध्य भएका हुन्।

सरकारले यसअघि आधा सिलिन्डर मात्रै भर्ने निर्णय गरे पनि त्यसले व्यवसायी र उपभोक्ता दुवैलाई समस्या पारेको अर्यालले बताए। उनले नेपाल आयल निगमको नीतिलाई अदूरदर्शी भन्दै आगामी दुई महिनाभित्र देशमा ग्यासको चरम अभाव हुन सक्ने चेतावनी समेत दिए।

उद्योगीहरूको दाबी अनुसार हाल उद्योगका सबै ग्यास बुलेटहरू भरिभराउ अवस्थामा रहेका छन् र बजारमा पूर्ण क्षमताको सिलिन्डर पठाउन कुनै समस्या छैन। तर आधा तौलका सिलिन्डर मात्रै बिक्री गर्नुपर्ने नियमका कारण मौज्दात ग्यास बजारमा पठाउन कठिन भएको उनीहरूको भनाइ छ।

उद्योगीहरूका अनुसार आधा तौलका सिलिन्डरहरू उपभोक्ताको घरमै थन्किएपछि भारतबाट आएका ग्यास बुलेट उद्योगमा अनलोड गर्न नसकिएको अवस्था छ। अहिले ७.१ किलोका सिलिन्डर मात्रै बजार पठाउँदा र बुलेट समयमै अनलोड नगर्दा आपूर्ति प्रणाली नै जाम हुने जोखिम बढेको उनीहरूले बताएका छन्।

व्यवसायीहरूको यो निर्णयले अब बजारमा ग्यास आपूर्ति सहज हुने अपेक्षा गरिएको छ, तर सरकार र व्यवसायीबीचको नीति विवाद कसरी समाधान हुन्छ भन्ने विषय भने अझै अन्योलमै रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै