डोटीको विपिनगरमा इलाका प्रशासन कार्यालय स्थापना,नागरिक सेवामा ऐतिहासिक सहजता
डोटी-डोटी जिल्लाको विपिनगरमा इलाका प्रशासन कार्यालयको औपचारिक उद्घाटन गरिएको छ। आज आयोजित कार्यक्रममा नेपाल सरकार गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेले कार्यालयको उद्घाटन गरेका हुन्।
कार्यक्रमको सभापतित्व प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले गर्नुभएको थियो। कार्यक्रममा बोगटान गाउँपालिका अध्यक्ष कमल गडसिला, जोरायल गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझा, बडिकेदार गाउँपालिका अध्यक्ष भैरव साउद, वडा नं. १ का अध्यक्ष डबल बहादुर बोहरा लगायत स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा विपिनगरका संस्थापक तथा नेपाली कांग्रेस महासमिति सदस्य पदमराज जोशीले इलाका प्रशासन कार्यालयको आवश्यकता, यसको महत्व र सेवाग्राहीले पाउने सुविधाबारे जानकारी गराउनुभएको थियो।
विपिनगरमा इलाका प्रशासन स्थापना गर्न स्थानीय तहदेखि केन्द्रसम्म विशेष पहल गरी सफल बनाउन योगदान पुर्याएको भन्दै पदमराज जोशीप्रति कार्यक्रममा सहभागी सबै पक्षबाट धन्यवाद ज्ञापन गरिएको थियो।
नयाँ कार्यालयबाट आजैदेखि नागरिकता वितरण, राहदानी (पासपोर्ट) सिफारिस तथा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा सुरु गरिएको छ। यसले डोटीको दक्षिणी भेगका जोरायल र बोगटान क्षेत्रका नागरिकलाई सेवा लिन सहज हुने विश्वास गरिएको छ।
स्थानीयवासीका अनुसार यस कार्यालयको स्थापना क्षेत्रका सर्वसाधारणका लागि ‘ऐतिहासिक उपलब्धि’ का रूपमा लिइएको छ, जसले अब प्रशासनिक सेवा लिन जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य गर्ने अपेक्षा गरिएको छ।












