निजी विद्यालयको बढी शुल्कविरुद्ध हेल्पडेस्क, फोन गरेरै उजुरी गर्न सकिने – Sagarmathapana:: Online News Portal

निजी विद्यालयको बढी शुल्कविरुद्ध हेल्पडेस्क, फोन गरेरै उजुरी गर्न सकिने

   २०८३ बैशाख २ गते  

काठमाडौं-निजी विद्यालयहरूले तोकिएभन्दा बढी शुल्क लिएको गुनासो बढेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय ले उजुरीका लागि हेल्पडेस्क सञ्चालनमा ल्याएको छ।

मन्त्रालयअन्तर्गतको शिक्षा विकास तथा मानवस्रोत विकास केन्द्रमार्फत सञ्चालन गरिएको उक्त हेल्पडेस्कमा सर्वसाधारणले सिधै फोन गरेर गुनासो दर्ता गर्न सक्ने व्यवस्था गरिएको हो। यसका लागि ९८५१२१४६३८ नम्बर सार्वजनिक गरिएको छ।

केन्द्रका निर्देशक निमप्रकाश सिंह राठौरलाई हेल्पडेस्कको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ। अभिभावक तथा विद्यार्थीहरूले विद्यालयले अस्वाभाविक रूपमा शुल्क बढाएको वा अतिरिक्त रकम असुल गरेको भए उक्त नम्बरमा सम्पर्क गरेर उजुरी दिन सक्नेछन्।

मन्त्रालयले निजी विद्यालयहरूलाई तोकिएको मापदण्डभन्दा बढी शुल्क नलिन कडाइका साथ निर्देशन दिएको छ। यदि नियमविपरीत शुल्क लिइएको पाइएमा तत्काल फिर्ता गर्नुपर्ने चेतावनी पनि दिइएको छ।

निर्देशन उल्लङ्घन गर्ने विद्यालयमाथि शिक्षा ऐन, २०२८ अनुसार कारबाही हुने मन्त्रालयले स्पष्ट पारेको छ। ऐनअनुसार बढी लिएको शुल्क फिर्ता गराउनुपर्ने वा अधिकतम २५ हजार रुपैयाँसम्म जरिवाना गरिने प्रावधान रहेको छ।

मन्त्रालयले यस कदमले निजी विद्यालयहरूको शुल्क व्यवस्थापन पारदर्शी र अनुशासित बन्ने विश्वास व्यक्त गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै