नेपालमै बनेको ‘लक्सगो’ एप सार्वजनिक, सुरक्षित र स्वदेशी राइड–सेयरिङमा नयाँ विकल्प
काठमाडौं-नेपालमै विकास गरिएको नयाँ राइड–सेयरिङ प्लेटफर्म ‘लक्सगो’ (Luxego) एप सार्वजनिक गरिएको छ। स्वदेशी प्रविधिमा आधारित उक्त एपले यात्रु, चालक तथा व्यवसायीहरूलाई सुरक्षित, भरपर्दो र प्रविधिमैत्री सेवा प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ।
एप सार्वजनिक गर्दै कम्पनीले प्रयोगकर्ताको व्यक्तिगत विवरण र डाटा सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको उल्लेख गरेको छ। विदेशी प्लेटफर्ममार्फत डाटा बाहिर जाने जोखिमलाई ध्यानमा राख्दै ‘लक्सगो’ ले नेपालभित्रै सुरक्षित रूपमा डाटा व्यवस्थापन गर्ने दाबी गरेको छ। GPS लगायत आधुनिक प्रविधिको प्रयोगले यात्रु र चालकबीचको सेवा थप विश्वसनीय बनाइने बताइएको छ।


लक्सगो एपमार्फत प्रयोगकर्ताले सजिलै सवारी बुक गर्न सक्नेछन्। Normal, Comfort र Premium Luxury जस्ता विभिन्न सेवा विकल्प उपलब्ध हुनेछन्। साथै ग्राहकलाई छुट, विशेष अफर तथा लक्की ड्रमार्फत पुरस्कार जित्ने अवसरसमेत दिइने कम्पनीको भनाइ छ। उत्कृष्ट सेवा दिने चालकलाई मासिक रूपमा सम्मान र प्रोत्साहन गर्ने व्यवस्था पनि गरिएको छ।
सामाजिक उत्तरदायित्वअन्तर्गत ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति लगायतका समूहलाई विशेष सहुलियत प्रदान गरिनेछ। चालकहरूको सामाजिक सुरक्षालाई ध्यानमा राख्दै बीमा, आपतकालीन सहयोग तथा दुर्घटनामा आर्थिक सहायता दिने नीति कम्पनीले अघि सारेको छ।

कम्पनीका अनुसार चालकहरूको आम्दानी पारदर्शी बनाउन कमिसन प्रणाली स्पष्ट राखिनेछ भने ‘रिटायरमेन्ट तथा बचत कोष’ जस्ता दीर्घकालीन योजना पनि ल्याइनेछ। यसले चालकहरूको आर्थिक भविष्य सुरक्षित बनाउन सहयोग पुर्याउने विश्वास लिइएको छ।
स्वदेशी एपमार्फत डिजिटल अर्थतन्त्रलाई मजबुत बनाउने, देशभित्रै लगानी र आम्दानीको चक्र सिर्जना गर्ने तथा बाह्य निर्भरता घटाउने लक्ष्य कम्पनीले राखेको छ। लक्सगोको सुरुवातसँगै नेपालमा राइड–सेयरिङ क्षेत्रमा प्रतिस्पर्धा बढ्ने र सेवाग्राहीले थप विकल्पसहित गुणस्तरीय सेवा पाउने अपेक्षा गरिएको छ।
सञ्चालक समिति
लक्सगो प्राइभेट लिमिटेडका अध्यक्ष पाण्डव राज अर्याल रहेका छन् भने प्रबन्ध निर्देशकमा राजन कुमार सापकोटा कार्यरत छन्। कम्पनीका अन्य सञ्चालकहरूमा गोविन्द न्यौपाने, बद्री बस्नेत, राजु श्रेष्ठ र निरज श्रेष्ठ रहेका छन्। बिमल श्रेष्ठले सञ्चालक तथा कानुनी सल्लाहकारको जिम्मेवारी सम्हालिरहेका छन्। कम्पनीले अनुभवी नेतृत्वमार्फत सेवा विस्तार गर्ने लक्ष्य राखेको जनाएको छ।












