सांसद महावीर पुन चोक–चोकमा किताब बेच्दै, आम्दानीबाट कृषि उद्योग सञ्चालन – Sagarmathapana:: Online News Portal

सांसद महावीर पुन चोक–चोकमा किताब बेच्दै, आम्दानीबाट कृषि उद्योग सञ्चालन

   २०८३ बैशाख १ गते  

काठमाडौं।वैज्ञानिक तथा प्रतिनिधिसभा सदस्य महावीर पुन संसद् बैठक नभएको समयमा पनि आफ्नै शैलीमा सक्रिय देखिएका छन्। उनी काठमाडौंलगायत विभिन्न सहरका चोक–चोकमा आफ्नै आत्मकथात्मक पुस्तक बेच्दै हिँडेको दृश्य सर्वसाधारणले देखिरहेका छन्।

पुनले पुस्तक बिक्रीबाट संकलित रकमलाई उत्पादनशील क्षेत्रमा लगानी गरेका छन्। उनले सोही आम्दानी प्रयोग गरेर वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालनमा ल्याएका छन्। उनका अनुसार हालसम्म करिब २ लाख ५५ हजार प्रति पुस्तक बिक्री भइसकेको छ।

गत शनिबार काठमाडौंको चाबहिल चोकमा पुस्तक बेच्दै गरेका पुनले व्यंग्यात्मक शैलीमा आफूलाई ‘पैसा लुट्ने डाका’ भन्दै सर्वसाधारणसँग संवाद गरेका थिए। उनले हाँसो–ठट्टामै भने, “नेपालभरि पैसा लुटेको मान्छे आयो, १८/१९ करोड लुटिसकेँ, १२ करोड बचाइसक्यो।”

उनले लेखेको आत्मकथाको मूल्य ७५० रुपैयाँ राखिएको छ। वैज्ञानिक अनुसन्धान तथा आविष्कारमा सरकारले पर्याप्त बजेट विनियोजन नगरेको भन्दै उनी लामो समयदेखि असन्तुष्टि जनाउँदै आएका छन्।

यसअघि सुशिला कार्की नेतृत्वको मन्त्रिपरिषद्मा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बनेका पुनले आफ्नो प्रस्तावित कानुन संशोधनमा सहयोग नपाएको भन्दै पद त्यागेका थिए।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा म्याग्दीबाट विजयी हुने उनी एकमात्र सांसद बनेका छन्। आफ्नो फरक पहिचान र योगदानका कारण पुनप्रति जनस्तरमा सम्मान पनि बढ्दो छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै