भृकुटीमण्डपमा २० संस्थामा ताला, १० करोडभन्दा बढी भाडा बक्यौता – Sagarmathapana:: Online News Portal

भृकुटीमण्डपमा २० संस्थामा ताला, १० करोडभन्दा बढी भाडा बक्यौता

   २०८३ बैशाख १ गते  

काठमाडौं।काठमाडौंस्थित भृकुटीमण्डप भित्र कार्यालय तथा व्यवसाय सञ्चालन गर्दै आएका तर लामो समयदेखि भाडा नतिर्ने संस्थामाथि समाज कल्याण परिषद्ले कडा कारबाही सुरु गरेको छ।

परिषद्ले बक्यौता नतिर्ने २० वटा कार्यालय तथा संरचनामा ताला लगाएको जनाएको छ। पटक–पटक सूचना जारी गर्दा पनि सम्बन्धित संस्थाहरूले भाडा नबुझाएपछि बाध्य भएर यस्तो कदम चालिएको परिषद्को भनाइ छ।

ताला लगाइएका संस्थामध्ये रिपोटर्स क्लब, काठमाडौं पुस्तकालय, फोटो पत्रकार महासंघ, अपाङ्ग महासंघ लगायत रहेका छन्।

परिषद्का सदस्यसचिव सरोजकुमार शर्माका अनुसार भृकुटीमण्डपभित्रका संरचनाबाट हाल १० करोड रुपैयाँभन्दा बढी भाडा उठ्न बाँकी छ। उनले अब ती संरचनालाई व्यवस्थित गर्ने योजना अघि बढाइएको पनि जानकारी दिए।

ताला लगाइएका संस्थालाई सात दिनभित्र बक्यौता भुक्तानी गर्न निर्देशन दिइएको छ। तोकिएको समयभित्र रकम नबुझाए थप कडा कारबाही गरिने परिषद्ले चेतावनी दिएको छ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीको निर्देशनपछि परिषद्ले भाडा असुली अभियानलाई तीव्रता दिएको बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै