जेठ ९ भित्रै संसद् भवन निर्माण सक्न सभामुखको कडा निर्देशन
काठमाडौं।संघीय संसद् भवन निर्माण कार्य निर्धारित समयभित्रै सम्पन्न गर्न सभामुख डोलप्रसाद (डिपी) अर्यालले कडा निर्देशन दिएका छन्।
आज सहरी विकास मन्त्रालयका पदाधिकारी तथा निर्माण व्यवसायीसँग भएको छलफलमा सभामुख अर्यालले आयोजनामा भइरहेको ढिलाइप्रति गम्भीर चासो व्यक्त गर्दै आगामी जेठ ९ गतेभित्र काम सक्न सचेत गराएका हुन्। उनले अब पुनः समयसीमा थप्ने अवस्था आउन नदिन सम्बन्धित पक्षलाई स्पष्ट निर्देशन दिए।

२०७६ असोजमा तुन्डी शेख जेभीसँग ७ अर्ब ९४ करोड रुपैयाँमा सम्झौता गरिएको उक्त आयोजना हालसम्म ६ पटक म्याद थपिँदै आएको छ। मन्त्रालयका अनुसार हालसम्म ९४ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ।
मुख्य संरचना निर्माण अन्तिम चरणमा पुगेको भए पनि इन्टेरियरतर्फ करिब २ अर्ब ३४ करोड र छाना निर्माणका लागि ३ करोड ८० लाख रुपैयाँको काम छुट्टाछुट्टै ठेक्कामार्फत अघि बढिरहेको छ।
उक्त छलफलमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख रूबीकुमारी ठाकुर तथा राष्ट्रियसभा उपाध्यक्ष लिलाकुमारी भण्डारीको समेत उपस्थिति रहेको थियो।
सरकारले राष्ट्रिय गौरवको आयोजनाको रूपमा लिएको संसद् भवन निर्माण समयमै सम्पन्न हुने वा पुनः ढिलाइ हुने भन्ने विषयमा अब सबैको नजर केन्द्रित भएको छ।












