भारतीय नम्बर प्लेटका सवारीमाथि कडाई, वीरगञ्जमा कागजपत्र र लाइसेन्स अनिवार्य जाँच
वीरगञ्ज:सीमावर्ती क्षेत्रको सुरक्षा र ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित वीरगञ्जमा भारतीय नम्बर प्लेटका सवारीसाधनमाथि कडाई सुरु गरिएको छ।
इलाका प्रहरी कार्यालय सुगौली विर्ताले सञ्चालन गरेको विशेष अभियान अन्तर्गत भारतीय नम्बर प्लेट भएका सवारीसाधनको वैध कागजपत्र, चालक अनुमतिपत्र (लाइसेन्स) लगायतका आवश्यक दस्तावेज अनिवार्य रूपमा जाँच गर्न थालिएको प्रहरीले जनाएको छ।


प्रहरीका अनुसार नियमविपरीत सञ्चालनमा रहेका सवारीसाधनलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही गरिनेछ। सीमावर्ती क्षेत्रमा बढ्दो सवारी चाप र सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै यस्तो कदम चालिएको हो।
यस अभियानले अवैध सवारी सञ्चालन न्यूनीकरण, सवारी दुर्घटना जोखिम नियन्त्रण तथा आपराधिक गतिविधि रोकथाममा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, नियमको पालना गर्न सर्वसाधारणलाई पनि प्रहरीले अनुरोध गरेको छ।












