रास्वपाको ऐतिहासिक अग्रता : प्रत्यक्ष र समानुपातिक दुवैतर्फ दबदबा – Sagarmathapana:: Online News Portal

रास्वपाको ऐतिहासिक अग्रता : प्रत्यक्ष र समानुपातिक दुवैतर्फ दबदबा

   २०८२ फाल्गुन २५ गते  

काठमाडौं।प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फ उल्लेखनीय अग्रता कायम गरेको छ। हालसम्म सार्वजनिक भएको परिणामले देशको राजनीतिक समीकरणमा ठूलो परिवर्तनको संकेत दिएको छ।

निर्वाचन आयोगका अनुसार आज बिहान ६ बजेसम्म १६१ निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ। प्राप्त नतिजाअनुसार रास्वपा १२४ निर्वाचन क्षेत्रमा विजयी भएको छ भने एक क्षेत्रमा अग्रता कायम राखेको छ।

अन्य दलहरूको अवस्था भने निकै कमजोर देखिएको छ।

नेपाली कांग्रेसले हालसम्म १७ निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ भने एक क्षेत्रमा अग्रता लिएको छ। यस्तै नेकपा (एमाले) ले ८ स्थानमा विजय हासिल गरेको छ र एक क्षेत्रमा अगाडि रहेको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पनि ८ स्थानमा जित निकालेको छ।

यसैगरी श्रम संस्कृति पार्टीले ३ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सिट तथा स्वतन्त्र उम्मेदवार महावीर पुनले १ सिट जितेका छन्।

समानुपातिकतर्फ पनि रास्वपाको स्पष्ट दबदबा देखिएको छ। हालसम्मको मतगणनाअनुसार रास्वपाले ३७ लाख २२ हजार मत प्राप्त गरेको छ।

त्यसपछि नेपाली कांग्रेसले १२ लाख ५४ हजार, नेकपा एमालेले १० लाख ६२ हजार र नेकपाले ५ लाख ४५ हजार मत प्राप्त गरेका छन्।

जारी मतगणनाको प्रारम्भिक नतिजाले रास्वपाको उदयलाई नेपालको राजनीतिमा नयाँ शक्ति सन्तुलनको संकेतका रूपमा हेरिएको छ। बाँकी निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक भएपछि संसदको अन्तिम शक्ति समीकरण अझ स्पष्ट हुने अपेक्षा गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै