मतसँगै मन जित्दै रास्वपा : विजय जुलुस र अबिर जात्रामा रोक,तत्काल काममा लाग्न निर्देशन – Sagarmathapana:: Online News Portal

मतसँगै मन जित्दै रास्वपा : विजय जुलुस र अबिर जात्रामा रोक,तत्काल काममा लाग्न निर्देशन

   २०८२ फाल्गुन २३ गते  

काठमाडौं।प्रतिनिधिसभा निर्वाचनमा उल्लेखनीय सफलता हासिल गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विजय उत्सव नगर्न आफ्ना नेता–कार्यकर्तालाई निर्देशन दिएको छ। चुनावी नतिजामा अग्रता र जितको श्रृंखला जारी रहँदा पनि पार्टीले देशभर कुनै पनि प्रकारका विजय र्‍याली, जुलुस तथा अबिर जात्रा नगर्न भनेको हो।

रास्वपाका उपसभापति डोलप्रसाद (डीपी) अर्यालले हालसम्म १३ सिटमा सानदार जित र १०३ स्थानमा फराकिलो अग्रता रहेको अवस्थामा पनि संयमता अपनाउन आग्रह गरेका छन्। उनले ‘जेन–जी’ आन्दोलनका सहिदहरूप्रति सम्मान व्यक्त गर्दै तथा मध्यपूर्व क्षेत्रमा देखिएको संवेदनशील अवस्थालाई ध्यानमा राख्दै विजय उत्सव नगर्न निर्देशन दिइएको बताए।

अर्यालका अनुसार चुनाव जित्नु मात्रै अन्तिम लक्ष्य नभई जनताको अपेक्षा पूरा गर्नु मुख्य जिम्मेवारी भएकाले विजयी उम्मेदवार तथा कार्यकर्तालाई तत्काल काममा लाग्न भनिएको छ। “उत्सव मनाउने समय होइन, अब जनताको विश्वासलाई कामबाट प्रमाणित गर्ने समय हो,” उनले भने।

रास्वपाको यो निर्णयलाई धेरैले नयाँ राजनीतिक संस्कारको संकेतका रूपमा पनि हेरेका छन्। चुनावी जितपछि विजय जुलुस, र्‍याली र उत्सव गर्ने परम्परालाई तोड्दै पार्टीले संयमता र जिम्मेवारीलाई प्राथमिकता दिएको बताइएको छ।

हाल विभिन्न निर्वाचन क्षेत्रमा मतगणना जारी रहेकाले रास्वपाको परिणाम थप सुदृढ हुने संकेत देखिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै