प्रभु स्टील्सको अवितरित हकप्रद शेयर लिलामीमा, न्यूनतम मूल्य रु.७५
काठमाडौं।ठूला पूर्वाधार तथा जलविद्युत क्षेत्रमा लगानी गर्दै आएको प्रभु ग्रुप्स अन्तर्गतको प्रभु स्टील्स एण्ड हाईड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेडको अवितरित हकप्रद शेयर लिलामीमा आएको छ। कम्पनीले सार्वजनिक सूचना जारी गर्दै बाँकी रहेको हकप्रद शेयर बढाबढ मूल्यमा बिक्री खुला गरेको हो।
कम्पनीका अनुसार प्रतिकित्ता न्यूनतम ७५ रुपैयाँ तोकिएको छ भने सोभन्दा माथि बढाबढ मूल्यमा आवेदन दिन सकिनेछ। आवेदन दिँदा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाइने व्यवस्था गरिएको छ।

यसअघि कम्पनीले गत कात्तिक ९ गतेदेखि मंसिर १५ गतेसम्म १ः१.३४ अनुपातमा हकप्रद शेयर निष्कासन गरेको थियो। सो अवधिमा बिक्री हुन नसकेको ४३ लाख १७ हजार ५० कित्ता शेयर अब लिलामी प्रक्रियाबाट बिक्री गर्न लागिएको हो। लिलामीमा माघ ६ गतेदेखि माघ २० गते बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ।
गत पुस १९ गते सम्पन्न कम्पनीको आठौं वार्षिक साधारण सभाले भविष्यमा आईपीओ निष्कासन गर्ने प्रस्ताव समेत सर्वसम्मत पारित गरिसकेको छ। कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड नियुक्त भइसकेको छ भने केयर रेटिङ नेपाल लिमिटेडसँग क्रेडिट रेटिङ्ग सम्झौता पनि सम्पन्न भइसकेको छ।
हाल कम्पनीले ४६.२५ मेगावाटको माथिल्लो म्याग्दी र २५.४ मेगावाटको सुपर आँखुखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ। यसका अतिरिक्त सोलुखुम्बुमा ४.२ मेगावाटको दोभान खोला र सिन्धुपाल्चोकमा ६.६५ मेगावाटको मध्य इन्द्रावती खोला जलविद्युत परियोजना अगाडि बढाउने तयारीमा छ।


कम्पनीको मुख्य लगानी रहेको प्रभु जलविद्युत विकास लिमिटेडले राहगाढ (९.६२ मे.वा.), इन्द्रावती खोला (९.३२५ मे.वा.) र लिदिन खोला (४.१२५ मे.वा.) गरी तीन जलविद्युत आयोजना निर्माण गर्ने लक्ष्य लिएको छ। साथै, सिद्धार्थ केवलकार बुटवलमा पनि कम्पनीको लगानी रहेको छ।
प्रभु स्टील्सले माथिल्लो म्याग्दी जलविद्युत आयोजनामा ४० प्रतिशत शेयर लगानी गरेको जनाएको छ। कम्पनीले अन्तर्राष्ट्रिय मापदण्डअनुसारको आईएसओ ९००१ः२०१५ प्रमाणपत्र प्राप्त गरेको छ भने हालसम्म ऋणमुक्त र निरन्तर नाफामा सञ्चालन भइरहेको दाबी गरेको छ।
लिलामीमा सहभागी हुन इच्छुक व्यक्ति वा संस्थाले आवेदन प्रभु स्टील्सको रजिष्टर्ड कार्यालय काठमाडौं महानगरपालिका–३२, तीनकुनेस्थित कार्यालयमा बुझाउनुपर्ने सूचनामा उल्लेख छ।












