इलाम–२ बाट प्रत्यक्षतर्फ नेकपा (एमाले)का युवा नेता सुहाङ नेम्वाङ सर्वसहमत सिफारिस
काठमाडौं।नेकपा (एमाले)का युवा नेता सुहाङ नेम्वाङ आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि इलाम क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ सर्वसहमत रूपमा सिफारिस भएका छन्।
पार्टीको जिल्ला तथा प्रदेशस्तरीय बैठकबाट नेम्वाङलाई सर्वसम्मत उम्मेदवारका रूपमा सिफारिस गरिएको हो। युवा, ऊर्जाशील र संगठन निर्माणमा सक्रिय नेताका रूपमा परिचित नेम्वाङप्रति पार्टी पंक्तिभित्र व्यापक विश्वास देखिएको छ।


इलाम–२ मा एमालेको संगठन मजबुत बनाउँदै आएका नेम्वाङले यसअघि पार्टीका विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्दै आएका छन्। स्थानीय विकास, सुशासन र युवाको सहभागितालाई प्राथमिकतामा राख्ने उनको प्रतिबद्धताले मतदातामाझ सकारात्मक सन्देश गएको पार्टी नेताहरूको भनाइ छ।
सर्वसहमत सिफारिसपछि प्रतिक्रिया दिँदै नेम्वाङले पार्टी र जनताको विश्वासलाई जिम्मेवारीका रूपमा लिएको बताउँदै निर्वाचनमा विजयी भई इलामको समग्र विकासका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
उनको उम्मेदवारी सिफारिससँगै इलाम–२ को राजनीतिक माहोल थप सक्रिय बनेको छ।












