चेकजाँचमा खटिएका ट्राफिक प्रहरी सहायक हवलदारको कारको ठक्करबाट मृत्यु
काठमाडौं।बुटवलमा सवारी साधन चेकजाँचमा खटिएका ट्राफिक प्रहरी सहायक हवलदारको कारको ठक्करबाट मृत्यु भएको छ।
सोमबार दिउँसो पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल धागो कारखाना अगाडि पूर्वबाट बुटवलतर्फ आउँदै गरेको कारले सडकमा चेकजाँचमा खटिएका प्रहरी सहायक हवलदार नागेश्वर पाललाई ठक्कर दिएको हो।


अस्थायी ट्राफिक प्रहरी पोस्ट रामनगरमा कार्यरत पाललाई बागमती प्रदेश १–००३ च ००७७ नम्बरको कारले दिउँसो करिब सवा ४ बजेतिर ठक्कर दिएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए।
ठक्करबाट टाउकोमा गम्भीर चोट लागेका पाललाई तत्काल लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो। तर उपचारका क्रममा चिकित्सकले ४ बजेर ३८ मिनेटमा उनलाई मृत घोषित गरेका थिए।
प्रहरीले ठक्कर दिने कार र चालक गुल्मीको रेसुङ्गा नगरपालिका–१ निवासी ५६ वर्षीय जितेन्द्र थापालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।












