काभा महिला भलिबल नेसन्स लिगको उपाधि भारतलाई – Sagarmathapana:: Online News Portal

काभा महिला भलिबल नेसन्स लिगको उपाधि भारतलाई

   २०८१ श्रावण २३ गते  

काठमाडौं। भारत काभा महिला भलिबल नेसन्स लिगको उपाधि जित्न सफल भएको छ।–नेपाली टोली ५ सेटको खेलमा घरेलु समर्थकका बीच पहिलो पटक उपाधि जित्ने सुनौलो मौका नेपाली टोलीले फेरि एक‌ पटक गुमाएको छ।

नेपाललाई भरपुर दर्शकको साथ थियो। ब्लकमा मजबुत भारतले नेपाललाई चुनौती दिदै १८-१४ को अग्रता बनायो। यही अग्रतालाई निरन्तरता दिएको भारतले २३-२० को अग्रता बनाउँदा भारत पहिलो सेटको जित नजिक थियो। तर थप दुई अंक जोड्न नेपालले दिएन। लगातार ४ अंक जोडेर नेपालले उत्कृष्ट शैलीमा पहिलो सेट २५-२३ ले जित्दै १-० को अग्रता बनायो।

कप्तान अरूणा शाहीको सर्भिससँगै सुरू भएको फाइनल खेलको पहिलो सेटमा नेपालले लगातार ३ अंक जोड्यो। तर बलियो प्रतिद्वन्द्वी भारतले केहि बेरमै ३-३ को बराबरीमा पुर्यायो। अंक जोड्ने होडबाजी दुवै टिमको थियो।

दोस्रो सेटमा भने भारत हाबी बन्यो। भारतको अट्याकलाई नेपालको डिफेन्सले रोक्न सकेन। कमजोर नेपाली ब्लकको फाइदा उठाउँदै भारतले १३-७ को अग्रता बनायो। यसपछि निरन्तर अंक जोडेर नेपाललाई मात्र १४ अंकमा रोक्यो। यो सेट नेपालले १४-२५ ले गुमायो। भारत खेललाई १-१ को बराबरीमा पुर्याउन सफल रह्यो।

तेस्रो सेटमा भने नेपाल कमब्याक गर्न सफल भयो। कुनै पनि समय यो सेटमा भारतले अग्रता बनाउन सकेन। ११-७ को अग्रता बनाएपछि नेपाललाई सहज भयो। ११-१४ ले पछि परेपछि भने भारतले कप्तान तथा सेटर जिनी कोभात साजीलाई कोर्टमा उतार्यो। डेंगुको कारण उनले पहिलो खेल खेलेपछि कुनै खेल खेलेकी थिइनन्। उनलाई कोर्टमा उतारे पनि यो सेट नेपालले २५-२२ ले जित्यो। खेलमा नेपालले २-१ को अग्रता बनायो।

खेलमा टिकीराख्न भारतलाई चौथो सेट जित्नै पर्ने थियो। सोही अनुरूप भारतले दमदार प्रदर्शन गर्यो। उत्कृष्ट डिफेन्सका साथ भारतले कुनैपनि समय नेपाललाई अग्रता बनाउन दिएन। २५-२१ ले भारतले चौथो सेट जितेपछि खेल २-२को बराबरीमा पुग्यो। खेल पाँचौ सेटतर्फ धकेलियो।

पाँचौ सेटमा भने नेपाल सुरूवात देखि नै पछि पर्यो। ३-० को भारतले अग्रता बनाएपछि नेपालले कमब्याक गर्न नै सकेन। ११-५ ले भारत अघि रहँदा नेपाल हार नजिक पुगेको थियो।

फेरि यो पटक नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) को इतिहास दोर्याएर भारत च्याम्पियन बन्यो। पाँच वर्ष अगाडि नेपाल स्वर्ण को लागि भारतसँग नै पाँचौ सेटमा हारेको थियो। नेपाललाई मात्र ५ अंकमा रोकेर भारतले पाँचौ सेट १५-५ ले जित्दै भारतले नेपाललाई स्तब्ध बनायो।

नेपालले लिग चरणमा भारतलाई हराएपनि फाइनलमा भने नेपाल पराजित हुन पुग्यो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै