गरिमा विकास बैंकको १९औं वार्षिक साधारणसभा सम्पन्न,कुल १०.५३ प्रतिशत लाभांश पारित – Sagarmathapana:: Online News Portal

गरिमा विकास बैंकको १९औं वार्षिक साधारणसभा सम्पन्न,कुल १०.५३ प्रतिशत लाभांश पारित

   २०८२ कार्तिक २७ गते  

पोखरा।गरिमा विकास बैंक लिमिटेडको उन्नाइसौं वार्षिक साधारणसभा मिति २०८२ कार्तिक २७ गते (विहिबार) पोखरा महानगरपालिका-२५, कास्कीस्थित होटल पोखरा ग्राण्डमा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८१/८२ का लागि शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र ४.५३ प्रतिशत नगद लाभांश (कर सहित) गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ।

सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण,नाफा–नोक्सान बाँड फाँड हिसाब,इक्विटीमा भएको परिवर्तन लगायतका विवरणहरू पारित गरिएको छ।साथै,आगामी आर्थिक वर्ष २०८२/८३का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि स्वीकृत गरिएको छ।

विशेष प्रस्ताव अन्तर्गत सभाले विकास बैंकको अधिकृत पूँजी बढाई रु. ६ अर्ब १० करोड पुर्‍याउने निर्णय गरेको छ।साथै,बैंकको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका–२,लाजिम्पाट बाट स्थानान्तरण गरी बालुवाटारस्थित आफ्नै भवनमा सार्ने,बैंकको छाप र लोगो परिवर्तन गर्ने, साथै प्रबन्धपत्र र नियमावली संशोधन गर्ने निर्णयहरू पनि पारित गरिएको छ।


हाल विकास बैंकको चुक्ता पूँजी रु. ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३२७.५७ रहेकोमा ६ प्रतिशत बोनस शेयर वितरण पश्चात रु. ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३६७.२२ पुग्ने बैंकले जनाएको छ।

गरिमा विकास बैंकले देशभर १२६ शाखा कार्यालय र ५१ एटिएम मार्फत सेवा प्रवाह गर्दै आएको छ। बैंकले नवीनतम डिजिटल बैंकिङ प्रणालीमार्फत ग्राहकलाई सरल, सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्दै आएको जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै