याम्फु समुदायले उधौली ‘यूलुक चोङला’ विविध कार्यक्रमसहित मनाउने तयारी – Sagarmathapana:: Online News Portal

याम्फु समुदायले उधौली ‘यूलुक चोङला’ विविध कार्यक्रमसहित मनाउने तयारी

   २०८२ कार्तिक १६ गते  

निमा पोङ्स्युवा,

संखुवासभा।आदिवासी भुमिपुत्र याम्फु समुदायले यस वर्षको उधौली पर्व ‘यूलुक चोङला’ विविध सांस्कृतिक कार्यक्रमसहित मनाउने तयारी गरेको छ। हाङ होङ टेम याम्फु थुकमाहाङ मन्दिर निर्माण तथा संरक्षण संस्थाको आयोजनामा मकालु गाउँपालिका–३ मा मंसिर १३ गतेदेखि १९ गतेसम्म भव्य रूपमा यो पर्व मनाइने भएको हो।

संस्थाका प्रतिनिधि दिल्ली (खम्बुता) याम्फुका अनुसार यस वर्षको यूलुक चोङलामा लोपोन्मुख ठाडो भाका र पात बजाउने ‘पिपिवा’ प्रतियोगिता विशेष आकर्षणका रूपमा रहनेछ। उक्त प्रतियोगिताका विजेताले क्रमशः नगद रु. ३,०००, रु. २,०००, रु. १,००० र सान्त्वना स्वरूप रु. ५०० प्राप्त गर्नेछन्।

त्यस्तै, सांस्कृतिक नृत्य प्रतियोगितामा पहिलो हुनेले रु. १५,०००, दोस्रोले रु. १०,०००, तेस्रोले रु. ७,००० र सान्त्वना स्वरूप रु. ५,००० पुरस्कार पाउने व्यवस्था गरिएको छ। कार्यक्रममा विभिन्न जातजातिको झाँकी, सांस्कृतिक पहिचान प्रदर्शन र ‘टोलेकुम्मा हुरा’ नाचमा सहभागीलाई समेत प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ।

उधौली पर्वका अवसरमा खुला च्याब्रुङ प्रतियोगिता पनि आयोजना हुनेछ। च्याब्रुङका विजेताले क्रमशः रु. २०,०००, रु. १०,०००, रु. ७,००० र सान्त्वना स्वरूप रु. ५,००० प्राप्त गर्नेछन्।

खेलकुदतर्फ, महिला र पुरुष दुबै समूहका लागि भलिबल प्रतियोगिता राखिएको छ।
पुरुषतर्फ विजेताले रु. २ लाख, उपविजेताले रु. १ लाख, तेस्रोले रु. ५० हजार र चौथोले रु. २५ हजार पाउनेछन्।
महिला भलिबलतर्फ विजेताले रु. १ लाख, उपविजेताले रु. ५० हजार, तेस्रोले रु. २५ हजार र चौथोले रु. १५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।

यसपटक यूलुक चोङलामा आर्चरी प्रतियोगिता (धनुषवाण) र महिला–पुरुष ट्रेल रेस पनि समावेश गरिएको आयोजक समितिले जनाएको छ।

नेपालका आदिवासी भुमिपुत्रहरूले वर्षमा दुई पटक उधौली र उभौली पर्व मनाउने चलन छ। याम्फु समुदायमा नयाँ अन्न भित्र्याउने बेलामा मनाइने यो उधौली चाडलाई ‘यूलुक चोङला’ भनिन्छ। उनीहरू आफ्नै मातृभाषामा “हाङ हाङ डिङ डिङ” भन्दै खुशी र हर्षोल्लाससहित पर्व मनाउँछन्, जसको अर्थ ‘हाँसो, रमाइलो र खुशियाली’ भन्ने हुन्छ।

त्यस्तै, याम्फु समुदायको उभौली पर्व ‘थकलुक’ चैत पूर्णिमाको दिन मनाइन्छ, जुन समयमा बाली रोप्ने र अन्नबाली राम्रो होस् भन्ने मनोकामना गरिन्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै