नेप्से ३० अंकले उकालो,नौ अर्बभन्दा बढीको कारोबार
काठमाडौं-साताको पहिलो कारोबार दिन धितोपत्र बजार उकालो लागेको छ। आइतबार नेप्से परिसूचक ३०.७५ अंकले बढ्दै १.१८ प्रतिशतले उक्लिएर २६३१.१४ विन्दुमा पुगेर बन्द भएको हो।
गत बिहीबारको तुलनामा कारोबार रकम पनि उल्लेख्य रूपमा बढेको छ। बिहीबार सात अर्ब ५१ करोड ३९ लाख रुपैयाँको कारोबार भएकोमा आज (आइतबार) कारोबार रकम नौ अर्ब २० करोड ३१ लाख रुपैयाँ पुगेको छ-अर्थात् कारोबार रकम एक अर्ब ६८ करोड रुपैयाँले बढेको हो।
यस दिन २०५ कम्पनीको सेयर मूल्य बढेको, ४२ कम्पनीको घटेको र ३ कम्पनीको स्थिर रहेको नेप्सेले जनाएको छ।
साथै, ५ कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ भने खानीखोला हाइड्रोपावरको सेयर ४.७६ प्रतिशतले घटेको छ।
पछिल्ला दिनहरूमा झैँ, हिमालयन बैंकको प्रमोटर सेयर सबैभन्दा बढी कारोबार भएको छ। आइतबार मात्रै यो बैंकको एक अर्ब ६६ करोड ५० लाख रुपैयाँको प्रमोटर सेयर खरिदबिक्री भएको हो।
नेप्सेमा रहेका १३ मध्ये १२ समूहको परिसूचक बढेको र व्यापार समूहको परिसूचक १.१० प्रतिशतले घटेको छ।
सबैभन्दा ठूलो वृद्धि फाइनान्स समूहमा देखिएको छ,जसको परिसूचक ५.१७ प्रतिशतले उक्लिएको हो।












