पहिलो सगरमाथा आरोहण दलका अन्तिम जीवित सदस्य कान्छा शेर्पाको अवसान

काठमाडौं-सगरमाथाको पहिलो सफल आरोहण दलका अन्तिम जीवित सदस्य कान्छा शेर्पा अब इतिहास बनेका छन्। काठमाडौंमा कान्छा छोरासँग बस्दै आएका शेर्पाको बिहीबार बिहान २:१० बजे निधन भएको परिवारले जनाएको छ।
९३ वर्षको उमेरमा संसार छोड्ने कान्छा शेर्पा विश्वकै अग्लो हिमाल सगरमाथासँग प्रत्यक्ष सम्बन्धित अन्तिम जीवित व्यक्तित्व थिए। सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले पहिलो पटक सगरमाथा चुम्दा, २० वर्षीय कान्छा पनि सो ऐतिहासिक अभियानका सदस्य थिए।
परिवारका अनुसार विदेशमा रहेकी छोरी शुक्रबार नेपाल आइपुग्ने भएकाले शेर्पाको अन्त्येष्टि शनिबार वा सोमबार गर्ने तयारी गरिएको छ।
पहिलो आरोहण दलका ३५ सदस्यमध्ये अन्तिम जीवित रहँदै कान्छा शेर्पा इतिहासका साक्षी बनेका थिए। उनी प्रायः भनिरहन्थे — “त्यो समय हामीलाई सगरमाथा चढ्दा संसारले हेरिरहेको थाहा थिएन, तर आज सबैले त्यो सम्झन्छ।”
उनको निधनसँगै सगरमाथाको पहिलो आरोहण दलका सबै सदस्य अब स्मृतिमा मात्र बाँकी रहेका छन्।