जेनजी आन्दोलनपछि राजीनामा दिएका बेलबारी जनप्रतिनिधिलाई फर्काउन दलहरूको सक्रियता
काठमाडौं।जेनजी आन्दोलनका क्रममा राजीनामा दिएका बेलबारी नगरपालिकाका जनप्रतिनिधिलाई पुनः काममा फर्काउने प्रयास तीव्र बनेको छ। नेपाली काँग्रेस, नेकपा एमालेलगायतका प्रमुख राजनीतिक दलहरूले नगरका जनप्रतिनिधिहरूसँग छलफल र समन्वय बढाएका छन्।
आन्दोलनको उत्कर्षका बेला नगरप्रमुख दिलप्रसाद राई, उपप्रमुख नितु थापा (कोइराला) सहित विभिन्न वडाका अध्यक्ष तथा जनप्रतिनिधिहरूले सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामा घोषणा गरेका थिए। आन्दोलनका क्रममा उनीहरूले सरकारको उदासीनता र स्थानीय माग सम्बोधन नभएको भन्दै पदबाट अलग्गिने निर्णय सार्वजनिक गरेका थिए।
एक महिनापछि राजनीतिक दलहरू उनीहरूलाई पुनः जिम्मेवारीमा फर्काउन सक्रिय बनेका छन्। स्रोतका अनुसार दलका शीर्ष नेताहरूले जनप्रतिनिधिहरूसँग निरन्तर सम्पर्क राख्दै नगरको विकास र सेवाप्रवाह प्रभावित भएको भन्दै पुनः कार्यभार सम्हाल्न आग्रह गरिरहेका छन्।
दलका स्थानीय नेताहरूका अनुसार, “जनताको म्यान्डेटको सम्मान गर्दै जनप्रतिनिधिहरूले जिम्मेवारीमा फर्किनु समयको आवश्यकता हो,” भन्ने धारणा दलभित्र साझा बन्दै गएको छ।
यसैबीच, जनप्रतिनिधिहरूले आफ्नो मागबारे केन्द्र र प्रदेश सरकारसँग स्पष्ट सुनिश्चितता आएपछि मात्रै औपचारिक निर्णय गर्ने बताएका छन्।












