नेपाल पर्वतारोहण संघको ३५औं वार्षिक साधारण सभा सम्पन्न,आगामी वर्षका नीति तथा बजेट पारित – Sagarmathapana:: Online News Portal

नेपाल पर्वतारोहण संघको ३५औं वार्षिक साधारण सभा सम्पन्न,आगामी वर्षका नीति तथा बजेट पारित

   २०८२ आश्विन २५ गते  

काठमाडौं-नेपाल पर्वतारोहण संघ (एनएमए)ले शुक्रबार, असोज २४ गते आफ्नो ३५औं वार्षिक साधारण सभा (एजीएम) सफलतापूर्वक सम्पन्न गरेको छ। सभाले आर्थिक वर्ष २०८२/०८३ का लागि नीति, कार्यक्रम तथा बजेट सर्वसम्मत रूपमा पारित गरेको छ।

संघका महासचिव राजेन्द्र बहादुर लामाले बन्द सत्रमा आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगतिविवरण प्रस्तुत गर्दै आगामी वर्षका नीति तथा कार्यक्रम प्रस्ताव गरेका थिए। त्यस्तै, कोषाध्यक्ष सुमी लामाले नयाँ आर्थिक वर्षको बजेट र अघिल्लो वर्षको लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरेकी थिइन्।

साधारण सदस्यहरूले प्रतिवेदनमा सक्रिय सहभागिता जनाउँदै सुझाव र टिप्पणी दिएका थिए। विस्तृत छलफलपछि प्रगतिविवरण र बजेट प्रतिवेदन दुवैलाई बिना परिमार्जन सर्वसम्मत रूपमा स्वीकृति दिइयो।

कार्यक्रमको उद्घाटन सत्रमा एनएमएले आर्थिक वर्ष २०८१/०८२ मा एनएमए शिखर अनुमति बिक्रीमार्फत पर्वतीय पर्यटन आम्दानीमा महत्वपूर्ण योगदान पु¥याउने शीर्ष १० ट्रेकिङ र अभियान संस्था सम्मान गरेको थियो। ती सम्मानित संस्था हुन् —

१) नर्ड एक्स्ट्रीम हिमालय प्रा.लि.

२) मेरा अल्पाइन ट्रेक्स एन्ड एक्सपेडिसन प्रा.लि.

३) एड्भेन्चर एभरेस्ट टिम ट्रेक एन्ड एक्सपेडिसन प्रा.लि.

४) आइस एट थाउजन्ड प्रा.लि.

५) एसियन हाइकिङ टिम प्रा.लि.

६) साउथ कोल एड्भेन्चर्स प्रा.लि.

७) सेवन समिट ट्रेक्स प्रा.लि.

८) सतोरी एड्भेन्चर्स प्रा.लि.

९) एट के. एक्सपेडिसन प्रा.लि.

१०) मकालु एड्भेन्चर्स प्रा.लि.

त्यसैगरी, लामो समयदेखि संघमा कार्यरत रहँदै सेवा निवृत्त भएका कर्मचारी राधिका स्याङ्वा र श्री नारायण लामालाई “आजीवन सेवा सम्मान” प्रदान गरिएको थियो। पुरस्कार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरि प्रसाद मैनालीले हस्तान्तरण गरे।

सचिव मैनालीले सरकारले एनएमएको पहलमा निरन्तर साथ दिने प्रतिबद्धता जनाउँदै भने,

“मन्त्रालय एनएमएसँग सम्बन्धित सबै विषयमा सहयोग गर्न प्रतिबद्ध छ र आगामी योजनाहरूमा पनि पूर्ण साथ दिनेछ।”

संघका अध्यक्ष फुर गेल्जे शेर्पाले पर्वतारोहण, उद्धार तालिम र वातावरण संरक्षणमा संघको निरन्तर प्रतिबद्धता दोहोर्याउँदै भने,

“हामीसँग पर्वतीय पर्यटन प्रवर्द्धन, पर्वतारोही कल्याण, हिमालमा ज्यान गुमाएका व्यक्तिहरूका बालबालिकालाई शैक्षिक सहयोग, र सदस्य सेवामा सुधारजस्ता ठोस योजना छन्। यी योजनालाई व्यवहारमा उतार्न हामी प्रतिबद्ध छौं।”

पर्यटन विभागका महानिर्देशक डा. नारायण प्रसाद रेग्मीले पनि एनएमएसँग सहकार्य गर्ने प्रतिवद्धता जनाए।

“पर्वतीय पर्यटन प्रवर्द्धनका लागि एनएमएको निरन्तर प्रयास प्रशंसनीय छ। विभाग यसको सफलताका लागि पूर्ण सहयोग गर्न तयार छ,” उनले भने।

त्यस्तै, नेपाल पर्यटन बोर्ड (एनटीबी) का प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशी, सदस्य ऋषिराम भण्डारी र टान (TAAN) अध्यक्ष सागर पाण्डेले पनि पर्वतीय पर्यटनको दिगो विकासका लागि सरोकारवालाबीच सहकार्य र साझेदारीको आवश्यकता औंल्याए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै