सौर्य एयरलाइन्स विमान दुर्घटनामा कम्पनीको गम्भीर लापरबाही – Sagarmathapana:: Online News Portal

सौर्य एयरलाइन्स विमान दुर्घटनामा कम्पनीको गम्भीर लापरबाही

   २०८१ श्रावण ११ गते  

काठमाडौँ । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा कम्पनीले गम्भीर लापरबाही गरेको पाइएको छ । काठमाडौँबाट मर्मतका लागि पोखरा जाँदै गर्दा दाहिनेतर्फ अत्यधिक मोडिँदा विमान भुइँमा बजारिएको थियो ।

निश्चित समय उडेपछि विमानलाई अनिवार्य रूपमा ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ चेक गर्नुपर्ने प्रावधान छ । यीमध्ये दुर्घटनामा परेको ९–एनएमई जहाज ‘सी–चेक’का लागि पोखरा जाँदै थियो । यो दुर्घटना हुनुमा नागरिक उड्डयन प्राधिकरण र विमान सञ्चालक कम्पनी सौर्य एयरलाइन्सको नै लापरबाही पाइएको छ । विमानलाई निश्चित समय उडाएपछि विभिन्न तहमा मर्मत तथा परीक्षण गर्नुपर्छ ।

‘सी–चेक’ सामान्य परीक्षण मात्रै होइन । यो करिब अन्तिम चरणको मर्मत नै हो । योभन्दा अघिल्लो चरणको मर्मत भनेको ‘डी’ मात्रै हुन्छ । त्यसैले कम्पनीले बुधबार नै पोखराको ह्याङ्गर १ महिनाका लागि भाडामा लिएपछि त्यसतर्फ उडान भर्दै थियो । उडानका लागि कम्पनीले खाली उडान भर्न प्राधिकरणसँग अनुमति लिएको थियो ।

प्राधिकरणका अनुसार विमानले उडानका लागि तीन प्रकारको अनुमति लिन्छन् । उडानका लागि कार्गो अनुमति, प्यासेन्जर अनुमति र ‘फेरी फ्लाइट’ (खाली उडान) उडानको अनुमति लिनुपर्ने हुन्छ ।

यसमध्ये सौर्यको सो विमानले ‘फेरी फ्लाईट’ (प्यासेन्जर बिना) उडानका लागि अनुमति मागेको थियो र सोही अनुसार प्राधिकरणले अनुमति दिएको थियो । तर खाली उडानका लागि लिइएको अनुमतिमा कम्पनीले १९ जना राख्यो ।

‘जुन सरासर कम्पनीको लापरबाही हो,’ प्राधिकरणका एक पूर्वमहानिर्देशकले भने, ‘खाली उडान अनुमतिमा विमान कम्पनीहरूले एयरहोस्टेज पनि राख्नुपर्दैन । यस्तै मर्मतका लागि जानुपर्ने भएकाले चालक र सह–चालकका साथै ४–५ जना इन्जिनियर भए पुग्छ ।’

तर, कम्पनीले १९ जना जम्बो टोली लिएर विमानलाई पोखरा पठाउन लागेको थियो । जसमा प्राविधिकका परिवारलाई समेत कर्मचारीको सूचीमा राखिएको थियो । ‘यसै पनि ‘सी–चेक’का लागि भरेको उडानमा बढीमा ५–६ जना (पाइलटसहित) हुनुपर्ने हो,’ ती पूर्वमहानिर्देशकले नाम नखुलाउने सर्तमा भने, ‘तर कम्पनीले १९ जनाको जम्बो टोली विमानमा राख्यो ।’
के भन्छ प्राधिकरण ?
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूल पनि सौर्य एयरलाइन्सले प्राधिकरणसँग ‘फेरी फ्लाइट’ अनुमति मागेको बताउँछन् । नागरिक उड्डयन प्राधिकरण नियमावली, २०५८’को नियम ५९ मा प्राधिकरणबाट जुन प्रकारको उडानका लागि अनुमति लिएको हो, त्यही अनुसार उडान भर्नुपर्ने प्रावधान छ । यसको अर्थ कार्गो, प्यासेन्जर र फेरीमध्ये जुन अनुमति लिएको हो, त्यसैमा उडान भर्नुपर्छ । तर, यो अनुमतिलाई कम्पनीले पालना गरेको पाइएन ।

भूलका अनुसार ‘सी–चेक’का लागि उडान भर्दा आवश्यक बाहेक अन्य कर्मचारी नै चढ्न मिल्दैन । ‘‘फेरी फ्लाइट’मा ‘प्यासेन्जर’ चढ्ने विषय नै उठ्दैन । ‘सी–चेक’ मर्मतका लागि उड्ने प्लेन उडाउनका लागि पाइलट जानै पर्छ । एयरहोस्टेज समेत चाहिँदैन । इन्जिनियर ४–५ जना चाहिन्छ । आकाशमा नै जहाज बिग्रयो भने बनाउन सक्ने त होइन । त्यही पनि इन्जिनियर राख्न नपाउने भन्ने हुन्न । १९ जना कसरी हाल्यो भने अनुसन्धानको विषय हो,’उनले भने ।

विमान दुर्घटनाको विषयमा छानबिन गर्न मन्त्रीपरिषद्को बैठकले ५ सदस्यसहितको छानबिन समिति गठन गरेको छ । यो टोली विमानस्थल पुगेर कम्पनीसँगको सम्पूर्ण कागजात लिइसकेको छ । साथै आवश्यकताअनुसार प्राधिकरणसँग रहेको कागजात, सीसीटीभी फुटेज समेत लिन सक्छ । यसबाहेक विमानको ब्ल्याक बक्स (सीभीआर)माथि समेत छानबिन गर्छ ।
कर्मचारीको सूचीमा नाम राखेपछि विमानस्थलमा बोर्डिङ पास समेत गर्न नपर्ने भएपछि सहजै १९ जना विमानसम्म पुगेका थिए । बोर्डिङ पास गर्न नपर्ने भएपछि विमानस्थलले यसबारे हेर्न पर्दैन । कम्पनीले ‘सी–चेक’का लागि जाने विमानमा चाहिने कर्मचारीको सूची निकालेपछि सोही बमोजिम कम्पनीकै गाडीमा विमानसम्म जान्छन् । बोर्डिङको हकमा पैसा तिरेर टिकट काटेका यात्रुका लागि मात्रै हुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै