रास्वपा केन्द्रीय समितिले गरेका सात निर्णय – Sagarmathapana:: Online News Portal

रास्वपा केन्द्रीय समितिले गरेका सात निर्णय

   २०८१ श्रावण १० गते  

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको बिहीबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकले पार्टीको विधानमा आवश्यक परिमार्जन तथा संशोधनका कार्यदल बनाउने निर्णय गरेको छ।

बैठकले कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटी संयोजक रहेको कार्यदल गठन गरेको हो।
यसअघि महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय समितिको बैठकले पनि विधान संशोधन कार्यदल बनाएको थियो। संयोजक रहेका महामन्त्री डा. मुकुल ढकाल निलम्बनमा परेपछि कार्यदल हेरफेर भएको हो।

कार्यदलको सदस्यमा सोबिता गौतम, गणेश कार्की, डा. तोसिमा कार्की, क्रान्तिशिखा धिताल, विजय जैरु, मेघ आले, कामिनी चौधरी, पुकार बम, नारायण घिमिरे र शंकर श्रेष्ठ रहेका छन्।
बैठकले भदौको दोस्रो साता कर्णाली विशेष अभियान कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।

अभियानमा पार्टी सभापति रवि लामिछानेसमेत सहभागी हुने निर्णय भएको कार्यबाहक प्रवक्ता मनीष झाले जानजकारी दिए। अभियान सम्बन्धी कार्ययोजना सहप्रवक्ता विपिनकुमार आचार्यले तयार पार्ने निर्णय गरिएको छ।

यस्तै पार्टी, पार्टी पदाधिकारी तथा नेतृत्वमा रहेका सदस्यहरूलाई रणनीतिक रूपमा सक्षम बनाउन सघन प्रशिक्षण आयोजना गर्ने भएको छ। यसलाई क्लोज क्याम्प नाम दिइएको झाले जानकारी दिएका छन्।

आजको बैठकले पार्टीको केन्द्रीय विभागहरूमा विभिन्न मितिमा मनोनीत सदस्यहरूलाई अनुमोदन गर्ने निर्णय गरेको झाले बताएका छन्।

पार्टी सचिवालयले विभिन्न मितिहरूमा गरेका निर्णयहरूलाई अनुमोदन गरेको झाले बताए।

पार्टीका सम्बन्धमा सार्वजनिक बहसमा आएका सबै उपयुक्त विषयहरूमा अध्ययन अनुसन्धानका लागि केन्द्रीय अनुशासन आयोगलाई अनुरोध गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ।

केन्द्रीय सदस्यबाट अल्पकालीन राजीनामा दिएका अरनिको पाँडेलाई केन्द्रीय समिति सदस्यमा पुनर्बहाली गर्ने निर्णय पनि आजको बैठकले गरेका थिए। उनी राष्ट्रिय योजना आयोगका सदस्य हुँदा पार्टी केन्द्रीय सदस्यबाट राजीनामा दिएका थिए। आयोगको सदस्यबाट हटेपछि केन्द्रीय समितिमा फर्किएका हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै