सेप्टेम्बर ८ पछि भिसा सकिएका विदेशीलाई त्रिभुवन विमानस्थलमै निःशुल्क भिसा नियमित गरिने
काठमाडौं।अध्यागमन विभागले सेप्टेम्बर ८ पछि भिसा अवधि सकिएका पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) को अध्यागमन कार्यालयमै निःशुल्क भिसा नियमित गर्ने निर्णय गरेको छ।
विभागका निर्देशक टीकाराम ढकालले विज्ञप्ति जारी गर्दै हाल नेपालमा देखिएका पछिल्ला परिस्थितिका कारण समयमा भिसा अवधि थप गर्न नसकेका विदेशी नागरिकलाई राहतस्वरूप यस्तो व्यवस्था गरिएको जानकारी दिएका छन्।
ढकालका अनुसार, नियमित प्रक्रिया पूरा गर्न नसकेका विदेशी पर्यटकले विमानस्थलबाटै निःशुल्क भिसा अनुमति पाउनेछन्। उनले विदेशी नागरिकमा परेको असुविधाप्रति विभाग संवेदनशील रहेको र उनीहरूको सहज आवागमन सुनिश्चित गर्न कदम चालिएको उल्लेख गरेका छन्।
यसअघि, भिसा अवधि सकिएको अवस्थामा पर्यटकलाई जरिवाना तिर्नुपर्ने बाध्यता थियो। तर, नयाँ निर्णयले सेप्टेम्बर ८ पछि भिसा अवधि सकिएका पर्यटकलाई सजिलो हुने विभागले जनाएको छ।












