एससिओ शिखर सम्मेलनमा सहभागिता पश्चात प्रधानमन्त्री ओली स्वदेश फर्किँदै
काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा सांघाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनमा सहभागी भई आज स्वदेश फर्कँदै छन्।
प्रधानमन्त्री ओली भदौ १४ गते २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको तियानजिन प्रस्थान गरेका थिए। भ्रमणका क्रममा उनले राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्नुका साथै शिखर सम्मेलनलाई सम्बोधन गरेका थिए। नेपाल सन् २०१६ देखि एससिओको संवाद साझेदार (डायलग पार्टनर) रहेको छ।
सन् २००१ मा स्थापना भएको एससिओ हाल चीन, रूस, भारत, पाकिस्तान, काजकिस्तान, कीर्गिस्तान, ताजिकिस्तान, उज्वेकिस्तान, इरान र बेलारुससहितका राष्ट्रहरू पूर्ण सदस्य रहेका विश्वकै ठूलो क्षेत्रीय संगठनमध्ये एक बनेको छ। अफगानिस्तान र मङ्गोलिया पर्यवेक्षक राष्ट्र हुन् भने नेपालसहित टर्की, श्रीलंका, अजरवैजान, आर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेबिया, कुवेत, माल्दिभ्स, म्यानमार, बहराइन र संयुक्त अरब इमिरेट्स संवाद साझेदार रहेका छन्।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले रूसका राष्ट्रपति भ्लादिमीर पुटिन, माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु, कम्बोडियाका प्रधानमन्त्री डा. सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओसका प्रधानमन्त्री सोनेसाइ सिपानडोन तथा भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।
यसअघि प्रधानमन्त्री ओलीले चीनका उपराष्ट्रपति हान झेङसँग बेइजिङमा भेटवार्ता गरेका थिए। भ्रमणमा उनको साथमा धर्मपत्नी राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, एमाले सांसद छविलाल विश्वकर्मा र उच्चस्तरीय सरकारी अधिकारी सहभागी रहेका छन्।












