लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूमि : गृहमन्त्री लेखक
वीरगञ्ज-गृहमन्त्री रमेश लेखकले लिम्पिया धुरा,कालापानी र लिपुलेक नेपालकै भूमि भएको स्पष्ट पारेका छन्। नेपाल प्रेस युनियन पर्साले वीरगञ्जमा सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले छिमेकी राष्ट्रहरूले यस विषयमा चित्त दुखाउनुपर्ने कुनै कारण नभएको बताए।
उनले भने, “लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको हो। हामीले हाम्रो भूमिलाई हाम्रो भन्नु स्वाभाविक कुरा हो। यसले कुनै पनि देशसँगको सम्बन्धमा असर पार्नु हुँदैन।”
गृहमन्त्री लेखकले भारत र चीनबीच लिपुलेकलाई व्यापारिक नाका बनाउने गरी भएको समझदारीबारे प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्त गरेको आपत्ति उचित भएको बताए। उनले नेपालको भूमि कुनै पनि मुलुकविरुद्ध प्रयोग हुन नदिने स्पष्ट पारे।












