अगस्तमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिए, २२ प्रतिशतले बढ्यो आगमन
काठमाडौं।सन् २०२५ को अगस्त महिनामा ८८ हजार ६८० विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार गत वर्षको अगस्तको तुलनामा यस वर्ष २२ प्रतिशतले पर्यटक आगमन बढेको देखिएको छ ।
अगस्तमा सर्वाधिक पर्यटक भारतबाट आएका छन् । तथ्यांक अनुसार भारतबाट मात्रै ३५ हजार ५०५ अर्थात् ४० प्रतिशत पर्यटक नेपाल आएका छन् । चीनबाट ७ हजार ५३३ (८.५%), अमेरिकाबाट ६ हजार ६८ (६.८%), श्रीलंकाबाट ५ हजार ९५६ (६.७%) र बंगलादेशबाट ४ हजार २६२ (४.८%) पर्यटक भित्रिएका छन् ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीका अनुसार भारतबाट एयर इण्डिया एक्सप्रेसको उडान थपिँदा पनि भारतीय पर्यटक संख्या उल्लेख्य रूपमा बढेको हो । उनले आगामी दिनमा पर्यटक आगमन अझै बढ्ने विश्वास व्यक्त गरेका छन् ।















