धरानको पिण्डेश्वरमा बोलबम भक्तजनको घुइँचो – Sagarmathapana:: Online News Portal

धरानको पिण्डेश्वरमा बोलबम भक्तजनको घुइँचो

   २०८१ श्रावण ७ गते  

काठमाडौं। धरान पिण्डेश्वर मन्दिरमा लाग्ने बोलबममा यसपटक ज्येष्ठ नागरिक र बालबालिका लिएर आउने अभिभावकहरूलाई विशेष लाइनको व्यवस्था गरेको छ ।
साउन महिना शिवजीको प्रिय महिना र साउनको सोमबार शिव आराधनाका लागि उत्तम दिन मानिने गरिएको छ । हालै प्रकाशनमा ल्याइएको रुद्राक्षारण्य परिचय नामक पुस्तकको सोही पेजमा यस्तो लेखिएको छ, ‘श्रावण शिवजीको प्रिय महिना र श्रावणको सोमबार शिव आराधनाका लागि उत्तम दिन । श्रावणभरि शिवभक्तहरू चतराधामबाट खाली खुट्टा पैदल सप्तकौशिकी गङ्गाको जल बोकेर पिण्डेश्वर मन्दिर आउँछ र चढाउँछन् ।’



ज्येष्ठ नागरिकहरू लामो समय लाइनमा बस्न नसक्ने भएकाले पनि उनीहरूलाई विशेष सुविधाका लागि फरक लाइनको व्यवस्था गरिएको पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकासकुमार बनेपालीले बताए । ‘ज्येष्ठ नागरिक र बालबच्चाहरूसहित आउने अभिभावकलाई अर्कै ढोकाबाट छिराउने व्यवस्था गरेका छौँ’ उनले भने, ‘यो पटक केही फरक गर्ने प्रयास गरिँदै छ । तर कत्तिको व्यवस्थित गर्न सकिन्छ हेरौँ ।’ उनका अनुसार ज्येष्ठ नागरिकलाई सम्हाल्नका लागि एकजनालाई मात्रै विशेष लाइनमा बस्न सक्ने व्यवस्था गर्ने तयारी थालिएको छ । सोहीअनुसार सुरक्षा निकायहरूसँग छलफल भइसकेको छ ।


यहाँ २०३९ सालदेखि साउन महिनाभरि जल चढाउने परम्पराको विकास भएको हो । त्यसभन्दा अगि जल चढाउने परम्पराको विकास नभएको जानकारहरू बताउँछन् । पर्यटन व्यवसायी वासुदेव बरालकृत हालै प्रकाशनमा आएको रुद्राक्षारण्य परिचय पुस्तकको २१ पेजमा यस्तो लेखिएको छ, ‘नेपालमा सबैभन्दा पहिलो बोलबम मेला आयोजना यही पिण्डेश्वर बाबाधामबाट भएको हो । भनिन्छ समुन्द्र मन्थनपश्चा्त देवताहरुले सप्तकोशीको जल ल्याएर यहाँ अर्पण गरेका थिए । त्यही बेलादेखि यहाँ शिवजीलाई जल अर्पणको परम्परा चलिआएको हो ।’


यहाँ भारतको सिक्किम, दार्जिलिङदेखि नेपालको सुदूरपश्चिम प्रदेशको कैलालीलगायतका जिल्लाबाट पनि भक्तजनहरू हुने गरेका छन् । यस्तै मधेश प्रदेशका विभिन्न जिल्लाबाट पनि भक्तजनहरू आउने गरेका छन् । यता कोशी प्रदेशको तराईका जिल्ला सुनसरी, मोरङ, झापा र उदयपुरबाट भक्तजनहरू आउने गरेका छन् । यसपटक भक्तजनलाई व्यवस्थित गर्नका लागि लाइन लगाउने व्यवस्था गरेको छ । ‘कोही पनि बीचबाट प्रवेश नगरून् भनी लाइनको व्यवस्था गरेका हौँ’ अध्यक्ष बनेपालीले भने । यहाँ जल अर्पण गरे भाकल तथा मनोकामना पूरा हुने विश्वास गरिँदै आएको छ । तर, सोचेअनुरूप प्रचार प्रसार हुन नसक्दा भारतीय भक्तजनहरूलाई ल्याउन नसकिएको अध्यक्ष बनेपानीको बुझाइ छ । ‘१० प्रतिशत भारतीय नागरिकहरूलाई ल्याउने सके हामीले धान्नै सक्दैनौँ’ उनले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै