एनएमएलाई प्रभावकारी नेतृत्व दिन मन्त्री पाण्डेको आग्रह
काठमाडौं।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल पर्वतारोहण संघ (एनएमए) बिना नेपालमा पर्वतारोहणको सम्भावना नै नहुने बताएका छन्।
सोमबार संघका नवनिर्वाचित अध्यक्ष फुर्वा गेल्जे शेर्पासहितको कार्यसमितिलाई बधाई ज्ञापन गर्दै मन्त्री पाण्डेले भने, “एनएमए नहुने हो भने नेपालमा माउन्टेरिङ सम्भावना छैन। दिगो रूपमा यसलाई अघि बढाउन तपाईंहरूको रचनात्मक सहयोग आवश्यक छ।”


मन्त्री पाण्डेले एनएमएमा एकपटक मात्र नेतृत्व लिने व्यवस्था सकारात्मक भएको उल्लेख गर्दै अधुरा परियोजना पूरा गर्न र पर्वतारोहण क्षेत्रमा अझ प्रभावकारी कार्य गर्न आग्रह गरे।
उनले पोखरास्थित पर्वतारोहण संग्रहालयलाई अत्याधुनिक बनाउनुपर्नेमा जोड दिँदै यसलाई विदेशी पर्यटकका लागि थप आकर्षणको केन्द्र बनाउन सरकार प्रतिबद्ध रहेको बताए।
पाण्डेले हालै सरकारले ९७ वटा हिमालमा दुई वर्षका लागि रोयल्टी छुटको व्यवस्था गरेको र नयाँ ५७ हिमाल आरोहणका लागि खुला गरिएको जानकारी पनि दिए। साथै निषेधित क्षेत्र हटाउने र सगरमाथा आधार शिविरदेखि क्याम्प–१ सम्म वैकल्पिक मार्ग बनाउन छलफल भइरहेको बताए।
“पर्वतारोहण नेपालकै ठूलो सम्भावना भएको क्षेत्र हो। जोखिम न्यूनिकरण गर्दै यसलाई दिगो रूपमा अघि बढाउन संघको सहकार्य अपरिहार्य छ,” मन्त्री पाण्डेले जोड दिए।
यस अवसरमा नवनिर्वाचित अध्यक्ष फुर्वा गेल्जे शेर्पाले पर्यटन क्षेत्र सुधार र पर्वतारोहण प्रवर्द्धनमा आफ्नो नेतृत्व समर्पित रहने प्रतिबद्धता जनाए। उनले हिमाल आरोहणका लागि थप प्रशिक्षण आवश्यक रहेको उल्लेख गर्दै, विदेशिने युवालाई स्वदेशमै अवसर सिर्जना गर्न सरकारसँग आग्रह गरे।
कार्यक्रममा पर्वतारोही दावा टशी शेर्पाले लिखित ‘शेर्पा’ पुस्तक मन्त्री पाण्डेलाई हस्तान्तरण गरिएको थियो। पुस्तकमा सन् २०१४ मा १६ जना पर्वतारोहीले ज्यान गुमाएको घटनाको उल्लेख गरिएको छ, जसमा लेखक स्वयं मात्र जीवित बचेका थिए।












