उखु किसानको आन्दोलन : अनुदान भुक्तानी र मूल्य वृद्धि गर्न सरकारसँग माग
काठमाडौं।मधेश प्रदेशसहित विभिन्न जिल्लाका उखु किसानहरूले सोमबार पनि आन्दोलन जारी राखेका छन् । किसानहरूले सरकारले तोकेको प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान र आर्थिक वर्ष २०८१/८२ को बक्यौता रकम तत्काल भुक्तानी गर्न माग गरेका छन् ।
किसानहरूले राजधानीको माईतीघर–बानेश्वर सडकखण्डमा नाराबाजीसहित प्रदर्शन गर्दै उखुको मूल्य प्रतिक्विन्टल एक हजार रुपैयाँ पु(याउनुपर्ने माग पनि अघि सारेका छन् । उनीहरूले ‘उखु किसानको अनुदान कटौती गर्न पाइँदैन’, ‘उखु कृषक शोषण बन्द गर’, ‘किसानसँग भएका सम्झौता लागू गर’ जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शनमा बोकेका थिए ।
सर्लाहीको बलारा नगरपालिकाका नगरप्रमुख रामा शंकर प्रसाद कुशवाहाले किसानले वर्षेनी आन्दोलनमार्फत मात्रै अनुदान र मूल्य निर्धारण गराउनुपर्ने अवस्था अन्त्य हुनुपर्ने बताए । उनले सरकारले किसानको उत्पादनको मूल्य निर्धारण गर्दा किसानको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।
‘देशमा उद्योग वा कम्पनीहरूले आफैं उत्पादनको मूल्य निर्धारण गर्ने तर किसानले उत्पादन गरेको उखुको मूल्य सरकारले मात्र तोक्ने प्रचलन अन्यायपूर्ण छ,’ नगरप्रमुख कुशवाहाले भने, ‘अब किसानको उत्पादनको मूल्य किसानको सहभागितामा निर्धारण गर्नुपर्छ ।’
आन्दोलनरत किसानहरूले तत्काल बक्यौता रकम भुक्तानी गर्नुपर्ने र किसानमैत्री मूल्य निर्धारण प्रणाली कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् ।












