राष्ट्रिय खाद्य बैंकले ३० करोडको आईपीओ निष्कासन गर्ने, ग्लोबल आईएमई क्यापिटल इश्यू म्यानेजर

काठमाडौं।राष्ट्रिय खाद्य बैंक लिमिटेडले सर्वसाधारणबाट लगानी संकलन गर्ने उद्देश्यले ३० करोड रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) ल्याउने घोषणा गरेको छ। यसका लागि इश्यू म्यानेजरको जिम्मेवारी ग्लोबल आईएमई क्यापिटल लिमिटेडले लिने भएको छ।
शुक्रबार काठमाडौंको कोटेश्वर–३२, नरेफाटस्थित कार्यालयमा आयोजित विशेष कार्यक्रममा दुवै संस्थाबीच सम्झौता सम्पन्न भएको हो। सम्झौतापत्रमा राष्ट्रिय खाद्य बैंकका संस्थापक अध्यक्ष शङ्कर उप्रेति, कम्पनी सचिव डा. जिवनाथ धिताल र ग्लोबल आईएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइँटेलले हस्ताक्षर गरे।
समारोहमा अध्यक्ष उप्रेतिले खाद्य बैंकलाई थप सबल बनाउन आम सर्वसाधारणलाई शेयरमार्फत सहभागी गराउने निर्णय गरिएको बताए। उनले भने, “आईपीओले संस्थागत पारदर्शिता बढाउने मात्र होइन, जनविश्वास अझ मजबुत पार्नेछ।”
यस्तै कम्पनी सचिव डा. धितालले स्वदेशी पूँजीलाई उत्पादनमुखी क्षेत्रमा परिचालन गर्ने लक्ष्य रहेको बताए। उनका अनुसार, सार्वजनिक निष्काशनले खाद्य बैंकको दीर्घकालीन योजनामा गति दिनेछ।
इश्यू म्यानेजरको भूमिकाबारे बोल्दै ग्लोबल आईएमई क्यापिटलका सीईओ लुइँटेलले लगानीकर्तामैत्री र पारदर्शी प्रक्रिया सुनिश्चित गर्ने आश्वासन दिए। उनले भने, “खाद्य बैंक जस्तो संस्थाको विस्तारमा सघाउन पाउनु हाम्रो लागि गर्वको कुरा हो।”