प्रचण्डको चेतावनी : “अनुशासन तोड्नेलाई कारबाही, गुटबन्दी अब अस्वीकार्य”
पोखरा।नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीभित्र अनुशासन उल्लङ्घन गर्ने र गुटबन्दी गर्ने प्रवृत्तिमाथि कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।
अखिल नेपाल ट्रेड युनियन महासंघ गण्डकी प्रदेश समितिको प्रशिक्षण कार्यक्रममा बिहीबार बोल्दै दाहालले पार्टीको स्थायी समितिको निर्णयअनुसार अघि बढ्न सबै नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।
उनले भने, “पार्टीको नीति, नियम र अनुशासनका विरुद्ध जाने छुट कसैलाई छैन। त्यसो गर्नेहरूलाई कडा कारबाही गरिनेछ। स्थायी समितिमा अन्तिमसम्म एकता मजबुत पार्ने प्रयास भएको छ।”
प्रचण्डले पार्टीभित्र गुटबन्दी र व्यक्तिगत स्वार्थका समूहलाई अब कुनै पनि हालतमा स्थान नदिइने स्पष्ट पारे । साथै उनले समाजवादी क्रान्तिको बाटोमा अघि बढ्ने आफ्नो अडान दोहोर्याए ।












