रुकुम पूर्वको सदरमुकाम रुकुमकोट तोक्ने निर्णयप्रति आपत्ति, भूमे–पुथा संघर्ष समितिको आन्दोलनको घोषणा – Sagarmathapana:: Online News Portal

रुकुम पूर्वको सदरमुकाम रुकुमकोट तोक्ने निर्णयप्रति आपत्ति, भूमे–पुथा संघर्ष समितिको आन्दोलनको घोषणा

   २०८२ भाद्र ६ गते  

काठमाडौं।सरकारले रुकुम पूर्वको सदरमुकाम सिस्ने गाउँपालिका–५ र ६ स्थित रुकुमकोटलाई तोक्ने निर्णय गरेपछि भूमे–पुथा सदरमुकाम संघर्ष समितिले कडा आपत्ति जनाएको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समितिले सरकारले अदालतको फैसलासमेत बेवास्ता गर्दै जनभावनाविपरीत निर्णय गरेको आरोप लगाएको हो ।

संघर्ष समितिका संयोजक बलमान पुन मगरले पुथा उत्तरगङ्गा र भूमे गाउँपालिका गरी २३ वडा भएको क्षेत्रलाई उपेक्षा गरेर अल्पसंख्यक जनसंख्या भएको सिस्ने गाउँपालिकाको रुकुमकोटमा सदरमुकाम तोक्नु अन्यायपूर्ण र पूर्वाग्रही भएको बताए ।

‘हामीलाई राज्यले अपहेलना र अत्याचार गरेको छ,’ पुनले भने, ‘बहुमत जनसंख्या भएको भूमे वा पुथा उत्तरगङ्गा गाउँपालिकामध्ये कुनै स्थानमा सदरमुकाम तोकिनुपर्नेमा केही व्यक्तिहरुको व्यक्तिगत स्वार्थमा सरकारको निर्णय भएको छ ।’

उनका अनुसार मन्त्रिपरिषद्ले साउन ७ गते गरेको सो निर्णयमा रुकुम पूर्वका प्रमुख जनप्रतिनिधिहरूसँग राय, सुझाव र सहमति लिइएको छैन । जिल्लाका ६ जनप्रतिनिधिमध्ये ४ जना (१ प्रतिनिधिसभा सदस्य र ३ प्रदेशसभा सदस्य) तथा भूमे र पुथा उत्तरगङ्गाका निर्वाचित प्रतिनिधिहरूसँग परामर्श नगरी एकतर्फी निर्णय गरिएको समितिको आरोप छ ।

संघर्ष समितिले सरकारको निर्णयलाई अस्वीकार गर्दै सच्याउन माग गरेको छ । ‘रुकुम पूर्वको सदरमुकाम भूमे वा पुथा उत्तरगङ्गा गाउँपालिकाको कुनै पनि स्थानमा तोकिनुपर्छ, यसले मात्र सबैलाई न्याय दिनेछ,’ समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘पर्वत्या हाम्रो अस्तित्व, बचाउने हाम्रो दायित्व’ भन्ने नारासहित समितिले रुकुम पूर्वदेखि काठमाडौं उपत्यकासम्म चरणबद्ध आन्दोलन गर्ने निर्णय पनि गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै