नेपाल पर्यटन प्रवर्द्धनमा नयाँ मोड:टिकटकसँग नेपाल पर्यटन बोर्डको सहकार्य – Sagarmathapana:: Online News Portal

नेपाल पर्यटन प्रवर्द्धनमा नयाँ मोड:टिकटकसँग नेपाल पर्यटन बोर्डको सहकार्य

   २०८२ भाद्र ३ गते  

काठमाडौं-हिमाल, बुद्ध र संस्कृति मार्फत विश्वमा चिनिएको नेपाल अब डिजिटल कथा–यात्रामा उत्रिएको छ। नेपाल पर्यटन बोर्ड (NTB) ले विश्वव्यापी सामाजिक सञ्जाल प्लेटफर्म टिकटक सँग हातेमालो गर्दै नेपाललाई ‘डिजिटल पुस्ता’सम्म पुर्‍याउने अभियान सुरू गरेको हो।

यस सहकार्यमार्फत नेपालका प्राकृतिक दृश्य, ऐतिहासिक सम्पदा, पर्व–उत्सव, परम्परागत खानपानदेखि साहसिक पर्यटनका अनगिन्ती सम्भावनालाई करोडौँ दर्शकसामु प्रस्तुत गरिने बोर्डले जनाएको छ।


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सम्झौतापत्र आदानप्रदान कार्यक्रममा बोल्दै भने,

“नेपाललाई हिमाल र अध्यात्म मात्र नभई डिजिटल कथाको देशका रूपमा पनि स्थापित गर्न यो साझेदारी मील का ढुंगा हुनेछ।”

उनले विशेषगरी युवा पुस्ताले यात्रा गर्नुअघि डिजिटल प्लेटफर्मबाट प्रेरणा खोज्ने भएकाले टिकटकमार्फत नेपालको पर्यटकीय कथा सशक्त रूपमा प्रस्तुत हुने विश्वास व्यक्त गरे।

पर्यटन बोर्डका सिईओ दीपकराज जोशीले विश्वस्तरीय ‘ट्राभल कन्टेन्ट क्रिएटर’लाई नेपाल भित्र्याएर हिमाल, ताल, मठ–मन्दिर र स्थानीय होमस्टे सम्मको अनुभव साझा गर्ने योजना रहेको बताए। साथै, टिकटकले नेपालमै डिजिटल स्टोरीटेलिङ कार्यशाला आयोजना गरी नेपाली कन्टेन्ट क्रिएटरलाई दर्शक विस्तार, ब्रान्ड सहकार्य र प्रस्तुतीकरणका सीप सिकाउनेछ।

दक्षिण एसियाका लागि टिकटकका सार्वजनिक नीति प्रमुख फर्दोस मत्ताकिनले हरेक दिन करोडौँ प्रयोगकर्ताले नयाँ अनुभव खोज्ने बताएर, नेपाल पर्यटन प्रवर्द्धनमा यस सहकार्यले ठूलो योगदान दिने विश्वास व्यक्त गरे।

सन् २०२५ भर चल्ने यस अभियान अन्तर्गत काठमाडौंमा ‘भिजिट नेपाल डिजिटल फेस्ट’ आयोजना गरिनेछ, जसमा अन्तर्राष्ट्रिय कन्टेन्ट क्रिएटर, सांस्कृतिक दूत तथा पर्यटन व्यवसायीहरूको सहभागिता रहनेछ।

नेपाल पर्यटन बोर्ड र टिकटकबीचको यो समझदारीलाई पर्यटन विज्ञहरूले “नेपाल र नयाँ पुस्ता बीचको डिजिटल पुल” का रूपमा व्याख्या गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै