विपिन जोशीको रिहाइका लागि नेपाल सरकारको उच्चस्तरीय पहल जारी:प्रधानमन्त्री ओली
काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले इजरायलमा हमास समूहको कब्जामा रहेका नेपाली नागरिक विपिन जोशीको सुरक्षित र शीघ्र रिहाइका लागि नेपाल सरकारले उच्चस्तरीय पहल निरन्तर अघि बढाइरहेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले विपिनको सुरक्षालाई सरकारको प्राथमिकतामा राखिएको भन्दै परराष्ट्र मन्त्रालयमार्फत खाडी क्षेत्रका दूतावासहरूसँग निरन्तर संवाद भइरहेको जानकारी दिएका छन्।
उनका अनुसार विपिनकी आमा पद्मा र बहिनी पुष्पाले इजरायलका राष्ट्रपति आइज्याक हर्जोग र संसद् अध्यक्ष अमिर ओहानासँग भेट गरी सहयोगको आग्रह गरिसकेका छन्। साथै उनले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुुसैन खालिलसँग फोनमार्फत कुराकानी गरी यो विषयमा ध्यानाकर्षण गराएको पनि उल्लेख गरे।
प्रधानमन्त्री ओलीले विपिनको रिहाइका लागि इजरायलमा सक्रिय रहेका नेपाली, स्थानीय नागरिक, पत्रकार, सुरक्षाकर्मी र सामाजिक अभियन्ताप्रति विशेष आभार प्रकट गरेका छन्।












